प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुहुँदै प्र.म.नि. चन्द्र कुबेर खापुङ्गज्यू

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अतिरिक्त महानिरीक्षकहरूमा सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ । साथै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङ्गले दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङ्गले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । संगठन प्रति पुर्याएको योगदान, जिम्मेवारी निर्वाहको क्रममा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै प्राप्त पद र जिम्मेवारीलाई आफ्नो अनुभव, विवेक र नेतृत्वबाट समग्र संगठनको विकास र संगठनको वृहत्तर हितका लागि सामूहिक भावनाका साथ कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक खापुङ्गले नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै भएको उल्लेख गर्दै विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।
समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले नेपालको संविधान र विद्यमान ऐन कानुनको परिधि भित्र रही देशमा शान्ति सुव्यवस्था एवम् कानुन कार्यान्वयन गर्न अझ धेरै उत्प्रेरित भई व्यावसायिक निष्ठाका साथ इमानदार एवम् कर्तव्यनिष्ठ भई आ-आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।