kathmanduonlinemedia.com

शिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

बर्दिवास, वैशाख

शिशिर घिमिरे स्मृति प्रतिष्ठानले ३०औं राष्ट्रिय छन्द दिवसको अवसरमा बहुभाषिक कविता वाचन, स्रष्टा सम्मान र पुरस्कार वितरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको अध्यक्षता प्रेम घिमिरे ‘अग्नि कवच’ले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा मधेस प्रदेश क्षेत्र नं. १ ‘क’ प्रदेश सभा सदस्य माननीय शारदा थापा उपस्थित थिइन् ।

 

यस कार्यक्रममा प्रा. डा. सुमन कर्माचार्यलाई शिशिर घिमिरे स्मृति प्रतिभा सम्मान २०८१ प्रदान गरिएको हो । सम्मानसँगै डा. कर्माचार्यलाई रू. १५,५५५ राशी पनि दिइएको थियो । यो सम्मान प्रा. डा. कर्माचार्यको साहित्य र समाजसेवामा योगदानका कारण प्रदान गरिएको हो ।

 

कार्यक्रममा, महमद कामरुदिन नदाफद्वारा विशेष शारीरिक क्षमता भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरियो । गरिमा परियार (जनता मावि गौरीडाँडा, कक्षा ८) र दिनेश महतो (जनता बहुमुखी क्याम्पस, चौथो वर्ष)लाई जनही रू. ५५५५ का दरले छात्रवृत्ति प्रदान गरिएको थियो । साथै, साहित्यप्रेमी मिना देवकोटाले सुस्मिता कट्वाललाई रू. २५५५ छात्रवृत्ति प्रदान गरेकी थिइन् ।

 

कार्यक्रममा मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट सहित कोशी प्रदेश उदयपुर र बाग्मती प्रदेश रामेछाप, सिन्धुलीका साहित्यकारहरूको सहभागिता रहेको थियो । विशिष्ट अतिथिहरूमा हिरा गौतम (होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष), सरिता ढुङ्गाना (साहित्यप्रेमी), नारायण घिमिरे (प्रलेस मधेस प्रदेशका अध्यक्ष), विष्णु खड्का (बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष), रुद्रसेन विश्वकर्मा (राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल मधेस प्रदेशका अध्यक्ष) र गुञ्ज बहादुर कार्की ‘गोपाल’ (महोत्तरीका पर्यटन व्यवसायी) रहेका थिए ।

 

कार्यक्रममा विभिन्न भाषा र लयका गीत, गजल र कविता वाचन गरियो । कुमार कुसुम, गोपाल यादव, मेघराज पौडेल, लालबाबु पोखरेल, कामरुदिन नदाफ, सुमित्रा आचार्य, बेल बहादुर परियार, श्याम यादव, पुनम झा, बाबुराम फुयाल, प्रतिमा पौडेल, पुष्पा गजमेर, विपिराज दाहाल, केशव फुयाल, जीवन आचार्य, घनश्याम पन्त, डा. सुमन कर्माचार्य, लम्बोदर काफ्ले, डा. जो जोनसन, डा. जेनी हेरिङटन, बोधकुमार घिमिरे जस्ता सर्जकहरूले आफ्ना काव्य र रचनात्मक प्रस्तुति दिए ।

 

कार्यक्रमको समापनमा, प्रमुख अतिथी शारदा थापाले शिशिर घिमिरे स्मृति प्रतिष्ठानको दीर्घायुको कामना गर्दै नेपाली साहित्यमा योगदान गर्ने सर्जकहरूलाई हौसला दिने यो प्रकारका कार्यक्रम महत्वपूर्ण रहेको बताइन् ।

प्रा. डा. सुमन कर्माचार्यले आफूलाई सम्मानित गरेकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानका संरक्षक प्रेम घिमिरे र उनकी धर्मपत्नी देवि घिमिरेप्रति आभार प्रकट गरे ।

 

कार्यक्रमको सञ्चालन सर्जक नारद काफ्लेले गरेका थिए भने स्वागत मन्तव्य भिमकुमार राउतले प्रस्तुत गरेका थिए । कार्यक्रम बर्दिवासस्थित विनायक ब्याङ्केटको सभा हलमा सम्पन्न भएको थियो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.