भक्तपुर
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको शैक्षिक सुधार सम्बन्धमा छलफल गर्न आइतबार विद्यार्थीबिच छलफल कार्यक्रम भयो ।कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप बहुप्राविधिक अध्ययन संस्थान सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले विद्यार्थीमा भएको क्षमतालाई सशक्त बनाउन आवश्यक कलेजले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिस्पर्धाको बेला उत्तीर्ण मात्र भएर पुग्दैन, उत्कृष्ट हुनुपर्ने हुन्छ† उत्कृष्ट हुनको लागि थप मेहनत आवश्यक हुन्छ । गुणस्तरीय शिक्षा मेहनत र परिश्रमबाट मात्र हासिल गर्न सकिन्छ ।”
भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई शैक्षिक र पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्य लिई कार्य गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नर्सिङ कलेज सहजरूपमा स्थापना भएको होइन । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले परिकल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ लाई साकार बनाउन भनपाले कलेजहरू सञ्चालन गरिरहेको छ ।”
“युवा भनेको भीड होइन, विचार र सिद्धान्तले निर्देशित शक्ति हुनुपर्छ† देश रक्षा गर्ने भावना युवामा हुनुपर्छ”, प्रमुख प्रजापतिले बताउनुभयो ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवाले देशको लागि आवश्यक दक्ष नर्सिङ जनशक्ति तयार गर्ने उद्देश्य ख्वप बहुप्राविधिक अध्ययन संस्थानको रहेको हुँदा कलेजका समस्याहरू निराकरणको लागि समयमै छलफल गर्नुपर्ने र भएका समस्याबारे प्रशासनलाई जानकारी दिन आग्रह गर्नुभयो ।
ख्वप नर्सिङ विभागका विभागीय प्रमुख ईश्वरी डंगोलले कलेजको गरिमा बढाउन विद्यार्थीको मेहेनत आवश्यक भएको चर्चा गर्दैै नर्सिङ सेवामूलक पेसा भएको हुँदा विद्यार्थीहरू नर्सिङ पेसाप्रति सचेत हुनु जरुरी छ भन्नुभयो ।