सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नियुक्त र कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लबाट पद तथा गोपनीयताको शपथ लिएका डा. नारायणदत्त कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै कानुन व्यवसायीहरुले आज अदालतको ढोका ढक्ढक्याउने भएका छन् । संविधान २०७२ को धारा १२९ उपधारा ५ ले अधिवक्ता भई निरन्तर १५ वर्ष वकालत गरेको व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश हुन योग्यता पुगेको ठानेको छ ।
संविधानमा सर्वोच्चका न्यायाधीश र महान्यायाधिवक्ताको योग्यता,उमेरहद समान तोकिएको छ । संविधानकै धारा १५७ (३) मा महान्यायाधिवक्ता हुनका लागि सर्वोच्च अदालतको न्यायाधीश बन्न योग्यता पुगेको हुनुपर्ने उल्लेख छ । त्यस्तै अधिवक्ताको प्रमाणपत्र कायम रहन नेपालको नागरिकता कायम रहेको हुनुपर्ने, नेपाल कानुन व्यवसायी परिषद् ऐन २०५० को दफा १२९ (५) को मर्म र भावनाअनुरुपको हुनुुपर्ने छ ।
तर, कँडेलमाथि पहिले बेलायतको नागरिकता लिएको र अहिले उताको त्यागेर यता आएको आरोप लागेको छ । पहिले अध्ययन र पछि व्यवसायको क्रममा आयरल्याण्डमा रहने क्रममा उनी एनआरएनए युकेको उपाध्यक्ष बनेका थिए । बेलायत छिर्नुअघि नेदरल्याण्ड गएको पारिवारिक स्रोतको दावी छ ।
नेपालमा छँदा उनले अधिवक्ताको लाइसेन्स २०६० असार ३० गते पाएका थिए । ९४८९ नम्बरको लाइसेन्सधारी कँडेलले आफ्नो सामाजिक सञ्जाल लिंकएडइनमा सन् २००६ सम्म मात्रै नेपालमा कानुन व्यवसायी रहेको लेखेका छन् । त्यसअघि उनले केही समय सञ्चारकर्मीको रुपमा काम गरेका थिए ।
उनी विदेशिएपछिको पछिल्लो २० वर्ष, उताको नागरिकता लिएको अवधि, उताको त्यागेर यताको नागरिकता कायम गरेको समयलाई केलाउँदा संविधानले तोकेको १५ वर्षसम्म निरन्तर नेपालका अदालतमा वकालत गरेको नदेखिएको कानुन व्यवसायीहरु बताउँछन् । भन्छन्, ‘नेपालमा रहेर लगातार १५ वर्ष अधिवक्ताको कार्य गरेको प्रमाणित गरे पुग्छ, अरु थप प्रमाण चाहिँदैन ।’
कँडेललाई उत्तरी आयरल्याण्डको राजधानी बेलफास्ट मेट्रोपोलिटान एरियामा बस्ने उनलाई नजिकबाट चिन्ने नेपालीहरुका अनुसार बेलायतमा लगातार पाँच वर्ष बसिसकेपछि अनिश्चितकालसम्म बस्ने पाइने कानुनी व्यवस्था छ । अबदेखि उक्त व्यवस्थालाई १० वर्ष बनाइँदै छ । त्यो समय बसेकाले चाहेमा नागरिकता लिन पाइन्छ ।
उत्तरी आयरल्याण्डका ती नेपालीले भने, ‘शुरुका दिनमा उनले रेष्टुरेन्ट चलाएका थिए । कँडेल आफूलाई बिजनेस म्यान भन्दै हिँड्थे । बेलायतमा विदेशीका लागि पिएचडी निकै महँगो भएकाले अधिकांश विदेशीले बेलायतमा बसेर पिएचडी गर्नुअघि नागरिकता लिन्छन् । बेलायती बनेपछि त्यो सामान्य खर्चमा हुन्छ ।’
आफू आवद्ध त्यहाँको बोटानिक रेष्टुरेन्ट लिमिटेडमा सन् २०२० जनवरी १ देखि आवद्ध उनी हिजोको मितिसम्म डाइरेक्टरको भूमिकामा छन् । त्यसमा उनले राष्ट्रियता नेपाली लेखेको देखिन्छ । उनका सहोदर भाइ तथा डाइरेक्टर टेकनाथ कँडेलले भने उक्त रेष्टुरेन्ट छाडेका छन् । भाइले नेपाली नागरिकता त्यागेर पोर्चुगिज नागरिकता लिएका हुन् । दाजुभाई दुबै उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा बस्दै आएका छन्