भक्तपुर
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले नेपाल सरकारको निजामति सेवामा प्रवेश गरेका नवप्रवेशी शाखा अधिकृतहरुको ६ महिना अवधिको ‘आधारभूत प्रशासन प्रशिक्षण’ का प्रशिक्षार्थी अधिकृतहरुको टोलीले आज भक्तपुर नगरपालिकाका पुरातात्विक एवम् सांस्कृतिक सम्पदाहरुको अवलोकन भ्रमण गर्यो ।
सोही क्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थी अधिकृतहरुलाई मार्गनिर्देश गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखी शैक्षिक संस्थाहरु सञ्चालन गरेकै कारण आज भक्तपुर ज्ञानविज्ञानको केन्द्रको रुपमा विकास भइरहेको बताउनुभयो ।
उहाँले नपाबाट सञ्चालित उक्त कलेजहरुमा देशका विभिन्न ७७ जिल्लाबाट विद्यार्थीहरु अध्ययन गरिरहेको बताउँदै २०५६ सालमा ख्वप मावि स्थापनासँगै हाल ख्वप विश्वविद्यालय सञ्चालन गर्ने अवस्थामा नगरपालिका पुगेको बताउनुभयो । उहाँले नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधीहरु भक्तपुर नगरपालिकामा निर्वाचित भएर आई सकेपछि “एक घर एक स्नातक” उद्देश्य पुरा गर्न शैक्षिक संस्थाहरु सञ्चालन गरेको र यसबाट नगरको मात्र नभई देशभरि कै युवाहरुले उच्च शिक्षाका लागि विदेशीन नपर्ने हुँदा यहाँको सम्पूर्ण जनताहरुको सेवा भईरहेको पनि प्रष्ट पार्नु भयो । नगरपालिकाले सञ्चालन गरेको शैक्षिक संस्था र अस्पताल मार्फत हाल सम्पूर्ण जनताहरुको सेवा भइरहेको पनि बताउनुभयो । नेपाल मजदुर किसान पार्टीको उद्देश्य पनि देश र जनताको निस्वार्थ सेवा गर्नु हो भन्नु भयो ।
रुसले समाजवादी व्यवस्था स्थापना पछि २० वर्षमा विश्वकै दोस्रो अर्थतन्त्र बनाउन सफल भएको जानकारी दिनुभयो । तर नेपालमा २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था प्राप्त पछि ३५ वर्षमा ठूला भनाउँदा पार्टीहरुले देशको विकास भन्दा देशलाई झण्डै २८ खर्ब ऋणको भार बोकाएको भन्नु भयो । विदेशी ऋण र विदेशी सहयोग मार्फत देश उपनिवेश हुने खतरा हुनेबारे पनि सचेत हुन जोड दिनु भयो ।
उहाँले भक्तपुर नगरपालिकाले पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारालाई सार्थक बनाउन विदेशी सहयोगको मुख नताकिकन यहाँकै जनताहरुको जनसहभागिता र सहयोगमा यहाँको सम्पदा संरक्षण गर्न सफल भएको बताउनुभयो । सांस्कृतिक सम्पदा संरक्षणमा ठेका पत्ताबाट नभई यहाँकै स्थानीयबासीहरुको उपभोक्ता समिति मार्फत काम गर्दा जनसहभागिता तथा जनश्रमदान प्राप्त हुने र यसले अपनत्व प्राप्त भई प्रभावकारी काम हुने पनि बताउनु भयो । पुरानो पुस्ताको सिर्जित सम्पदा संरक्षण, पुनः निर्माण तथा जिर्णोद्धार गरि आफ्नो मौलिक कला र संस्कृति मार्फत हाम्रो पहिचान देखाई पर्यटन विकास सम्भव भएको हो र यसले नयाँ पुस्ताको सेवा गरिरहेको पनि बताउनु भयो । उहाँले सबै नवप्रवेशी अधिकृतहरुले पनि आगामी दिनमा देश र जनताहरुको निस्वार्थ सेवा गर्न शुभकामना दिनु भयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरका जनताहरुको सहयोगबाट २०७२ सालको भूकम्पबाट क्षति पुगेको सम्पदाहरु कुनै पनि विदेशी सहयोग विना झण्डै ९० प्रतिशत पुनः निर्माण गरिरसकेको र हरेक पुनः निर्माणको आयव्यय पारदर्शी गरेको कुरा बताउनु भयो । उहाँले नवनियुक्त अधिकृत प्रशिक्षार्थीहरुलाई नगरपालिकाका प्रकाशनहरु उपहार स्वरुप प्रदान गर्नुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेस प्रताप मल्लले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालबाट जनताहरुलाई न्युन शुल्कमा नै विशेषज्ञ सेवा प्रदान गरिरहेको जानकारी दिनु भयो । उहाँले निःशुल्क अक्सिजन वितरण देखि ख्वप अस्पतालबाट प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी दिनु भयो ।

अवलोकन भ्रमणको सहजीकरण भक्तपुर पर्यटक सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले गर्नुभई भक्तपुर नगरपालिकाले पर्यटक सेवा शुल्क संकलन गरि यहाँको कला संस्कृति, सम्पदा संरक्षण, शिक्षा, स्वास्थ्य र सरसफाईमा खर्च गरिरेहको जानकारी दिनु भई यहाँको सम्पदाहरुबारे पनि विस्तृतमा जानकारी दिनुभयो । अवलोकन भ्रमणमा पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद खत्री र मुरजदिदियाले सम्पदा अवलोकनमा पथप्रदर्शक भई भक्तपुरको कला संस्कृति र सम्पदाबारे जानकारी दिनु भयो । भ्रमणमा प्रतिष्ठानका अधिकृत, नेपाल प्रहरीका प्रशिक्षक र प्रशिक्षकसहित करिब १२० जनाको उपस्थिति थियो ।