kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

श्रीमती मार्न सुपारी दिने आफै मारिए

 

धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६ गते मनहरी गाउँपालिका–७ बाट पक्राउ परेका हुन् ।

प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार मृतक चूडामणि कँडेल र श्रीमती सुस्मिता सिलुवालबिच सम्बन्ध राम्रो थिएन । उनीहरूबिच सामान्य बोलचालसमेत बन्द थियो । यसैबिच कँडेलले आफ्नी श्रीमतीलाई मार्ने योजना बनाए । उनले यसका लागि अक्कलबहादुर प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ पनि दिए । प्रजाले नै पृथलाल थिङ र सञ्चलाल मुक्तानलाई यो काममा सहभागी गराए ।

उनीहरूले सुस्मितालाई मार्न पटक–पटक प्रयास पनि गरे । तर, उनीहरूको योजना कहिल्यै सफल भएन । यता, आफ्नो काम नभएपछि कँडेल थिङसँग रिसाए । डीएसपी हमाल भन्छन्, ‘काम नभएपछि कँडेलले थिङलाई छिटो काम गर्न अन्यथा रकम फिर्ता गर्न दबाब दिएको पाइएको छ ।’

कँडेलले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले कँडेलकै हत्या गर्ने योजना बनाए । त्यसपछि उनको घरमा पुगेर हत्या गरे । प्रहरीले उनीहरूको साथबाट मृतकको घाँटीमा कसेको डोरी र घटनामा प्रयोग भएको कोदालो बरामद गरेको छ । त्यस्तै, प्रजाको कोठाबाट कँडेलले दिएको १ लाख रुपैयाँ रकम, कँडेलले नै दिएको पैसाबाट किनेको एकै किसिमको कपडा र जुत्ता र कम्ब्याट हाफ पाइन्ट पनि प्रहरीले बरामद गरेको छ ।

अभियुक्तहरूले मृतक कँडेलको फोन पनि फुटाएर फालेका थिए । उनीहरूले भनेको स्थानबाट कँडेलले प्रयोग गर्ने रेडमी फोनको टुक्राहरू पनि फेला परेको छ । तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.