सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

भक्तपुर

ख्वप कलेज अफ इन्जिनियरिङको आयोजना मिति २०८२ बैशाख २५ गते बिहीबारका दिन बागमती प्रदेश, शिक्षा विकास निर्देशनालय, हेटौंडाबाट आ.व. २०८१÷०८२ को “सामुदायिक क्याम्पस गुणस्तर अभिवृद्धि कार्यक्रम” अन्तर्गत प्राप्त अनुदान रकम खर्च सम्बन्धमा जानकारी दिन सार्वजनिक सुनुवाइ कार्यक्रम कलेजको सभाहलमा सम्पन्न भयो ।

कार्यक्रममा कलेज संचालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकार नै ठेकेदारले चलाएको चर्चा गर्दै भक्तपुरमा उपभोक्ता समितिमार्फत इमान्दारीपूर्वक कार्य हुँदै आएको बताउनुभयो । भक्तपुरको पशुपति मन्दिर ठेक्कामा निर्माण गर्दा भएका कमी कमजोरीको चर्चा गर्दै १ करोडभन्दा बढीको निर्माणलाई ठेक्कामा दिने प्रावधानले बहुमुल्य सम्पदाको पुनःनिर्माण नहुने बताउदै सम्पदाको पुनः निर्माण उपभोक्ता समितिमार्फत हुनुपर्नेमा जोड दिनुभयो । उपभोक्ता समितिमार्फत सम्पदा पुनःनिर्माण गर्दा जनताको अपनत्व बढ्ने तथा इमान्दारीपूर्वक काम सम्पन्न हुने ङातापोलँ मन्दिर, भौरवनाथ मन्दिर र हालै सम्पन्न लक्ष्मीनरसिंह मन्दिरको पुनःनिर्माणले प्रमाणित गरेको बताउनुभयो । लक्ष्मीनरसिंह मन्दिर निर्माणसम्बन्धमा पनि सबै कुरा पारदर्शी हुनेगरी जनश्रमदान, आर्थिक सहयोगलगायतमा सबै विवरण समेतेर पुस्तक प्रकाशित हुने बताउनु हुँदै काम गर्ने बेलामा केही कमजोरी हुन सक्छ, रचनात्मक आलोचना गर्नुपर्ने बताउनुभयो ।

विश्वविद्यालयको स्वीकृति दिनु हुँदैन भन्ने विचार गलत भएको बताउनुहुँदै अहिले हामी २१ औं शताब्दीमा भएपनि केही बुद्धिजिवीको विचार १८ औं शताब्दीको जस्तो भएको चर्चा गर्नुभयो । “समाजमा सबै मान्छे राम्रा हुन्छ भन्ने होइन, हामीले राम्रो काम गर्ने मान्छेलाई उत्साहित गर्नुपर्छ ।” उहाँले बताउनुभयो । देशभरका स्थानीय तहमा जाने अनुदान कटौती गरेको बताउदै सरकारको भरमा मात्र विकास नहुने, अरुको भरमा होइन आत्मनिर्भर भएर आफ्नो ठाउँको विकास गर्नुपर्ने, जहाँ जहाँ जनता जागरुक भई काम गरेका छन् ती ठाउँहरुमा विकास भएको बताउनुभयो । शिक्षा, स्वास्थ्य, सरसफाइ, कृषिलगायतका सबै क्षेत्रको विकास भएमा मात्र साँचो अर्थमा विकास भएको मान्न सकिने बताउँदै विकास निर्माणको कार्यमा जनताको साथ र सहयोग पाइरहेको विचार व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रममा कलेज संचालक समितिका सदस्य एवं भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजूले भक्तपुर नगरपालिकाद्वारा संचालित कलेजहरुको देशैभरी चर्चा भइरहेको बताउनुहुँदै कलेजले गरेको गतिविधिको जानकारी दिन सार्वजनिक सुनुवाइ हुनु सकारात्मक भएको चर्चा गर्नुभयो ।

कार्यक्रममा कलेजका प्राचार्य ई. सुनिल दुवालले बागमती प्रदेशबाट प्राप्त उक्त अनुदान कार्यक्रम अन्तर्गत २ थान Interactive Smart Board सार्बजनिक खरिद ऐन २०६३ को नियमावली २०६४ अनुसार खरिद गरी कलेजका कक्षा कोठामा जडानसमेत भई विद्यार्थीको अध्ययन अध्यापनमा प्रयोग भएको जानकारी दिनुभयो । बागमती प्रदेशबाट अनुदान बापत रु ५,००,०००– प्राप्त भएकोमा २ थान Interactive Smart Board खरिद गर्दा जम्मा रु. ५,९५,५१०।– (अक्षरेपी रु. पाँच लाख पन्चानब्बे हजार पाँच सय दश मात्र) खर्च भएको र नपुग रकम रु. ९५,५१०।– (अक्षरेपी रु. पन्चानब्बे हजार पाँच सय दश मात्र) रकम कलेजले व्यहोर्ने जानकारी दिनुभयो ।

कलेज संचालक समितिका सदस्यहरु, स्थानीय जनप्रतिनिधि, अभिभावक, शिक्षक कर्मचारी तथा विद्यार्थीहरुको उपस्थितिमा भएको उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रशासन शाखाका प्रमुख सन्जय मानन्धरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading