गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्यतामा बुधबार आयोजित कार्यक्रम बीच कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठी, २०८२ विराटनगरमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
उक्त अवसरमा गृहमन्त्री लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न यस गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । देशको आन्तरिक सुरक्षा मजबुद भए मात्रै विकास र समृद्धि सम्भव हुने उल्लेख गर्दै सुरक्षा व्यवस्था तथा आर्थिक अवस्था मजबुद बनाउन भन्सार चोरी निकासी, कालोबजारी, गुण्डागर्दी, भ्रष्टाचार, लागूऔषध दुर्व्यसन, सवारी दुर्घटना, आत्महत्या र साईबर अपराधका घटनाहरूलाई नियन्त्रण तथा निरूत्साहित गर्न सबै सरोकारवाला निकायहरू एकजुट भएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । संविधानको विरूद्धमा हुने कुनै पनि गतिविधि मान्य नहुने र शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि भावी रणनीति बनाएर काम गर्नुपर्ने बताउँदै विपद् व्यवस्थापनका लागि उपलब्ध स्रोतसाधनको उच्चतम प्रयोग गरी कार्यसम्पदान गर्नुपर्ने उहाँले बताउनुभयो ।
सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारी र कोशी प्रदेशका प्रमुख सचिव चन्द्रकला पौडेलले गोष्ठीको औचित्यबारे आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
गोष्ठीमा प्रहरी महानिरीक्षक दिपक थापाले राज्यको आर्थिक, सामाजिक सुशासन, भौतिक पूर्वाधार र साँस्कृतिक विकास एवम् समृद्धिका निम्ति महत्वपूर्ण एवम् आधारभूत क्षेत्रको रूपमा रहेको सुरक्षा क्षेत्रलाई सक्षम, अब्बल र व्यावसायिक रूपमा विकसित गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । केन्द्रीय र प्रदेश स्तरबाट प्रभावकारी एवम् कुशल समन्वय र सहकार्य गरी कोशी प्रदेशको शान्ति सुरक्षा थप मजबुद बनाई व्यावसायिक तथा सक्षम प्रहरी सेवा प्रवाह गराउन र कानूनको निष्पक्ष कार्यान्वयन गरी विकासमैत्री वातावरण सृजना गर्न प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक थापाले विधिको शासनलाई अझ सशक्त बनाउन, आम नागरिकलाई न्यायको प्रत्याभूति दिलाउन, राज्यले प्रदत्त गर्ने सेवाहरूमा सबैको पहुँच सुनिश्चित गर्न एवम् देश र समाजको दिगो विकास प्राप्तिमा नेपाल प्रहरी सदैव कटिबद्ध रहेको उल्लेख गर्नुभयो । प्रदेशमा शान्ति सुव्यवस्था कायम राख्न थप सक्रियता एवम् रचनात्मक ढंगले आ-आफ्नो कार्यक्षेत्रमा अग्रसर रहि कार्य सम्पादन गर्न प्रदेश तथा जिल्ला प्रहरी प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।
सो अवसरमा नेपाली सेनाका रथी निर्मल कुमार थापा, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखाको तर्फबाट सह-सचिव रामचन्द्र तिवारी, कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य लगायतले आ-आफ्नो मन्तव्य व्यक्त तथा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आ-आफ्नो जिल्लाको विद्यमान शान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौति, समाधानका उपाय एवम् आगामी कार्यक्रम लगायत विविध विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा कोशी प्रदेशको विद्यमान सुरक्षाको अवस्था, समस्या तथा चुनौति र आगामी कार्यभार लगायतको विषयमा विस्तृत छलफल भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव गोकर्णमणी दुवाडीले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा कोशी प्रदेश अन्तर्गतका १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुख तथा पदाधिकारीहरू एवम् जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।