kathmanduonlinemedia.com

कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने-अध्यक्ष बिजुक्छेँ

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा शैक्षिक वर्ष २०८१।८२ मा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भयो ।

कार्यक्रममा अतिथि बिजुक्छेँले व्यक्ति, समाज, राष्ट्र र विश्वलाई गतिशील, शान्त, समान र व्यवस्थित गर्ने संहिता नै कानुन हो भन्दै कानुनले सत्य र न्यायको सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

कानुनको अज्ञानता र अपहेलना क्षम्य नहुने बताउँदै उहाँले कानुनको उल्लंघन दण्डनीय हुने हुँदा कानुनबारे सबै सचेत र सहज हुनुपर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेँले न्यायालय निष्पक्ष र तटस्थ हुुनुपर्ने बताउँदै अधिवक्ताहरुले राष्ट्र र समाजलाई हानी हुने काम र झुटा कुरा गरेर मुद्दा जित्ने प्रयत्न कहिल्यै गर्न नहुने बताउनुभयो ।

कानुनी शिक्षा सबै विषय र क्षेत्रमा अति आवश्यक विषय भएको हुँदा विद्यालय तहदेखि नै कानुन शिक्षामा जोड दिन सके विद्यार्थीहरुमा व्यापक दृष्टिकोणका विकास हुने उहाँले प्रष्ट पार्नुभयो ।

कतिपय अवस्थामा अपराध नियतले नभई परिस्थितले पनि गर्न बाध्य पार्ने बताउँदै त्उहाँले यस्तो अवस्थामा अपराधी स्वयम् भन्दा पनि अपराध हुने स्थिति तयार गर्ने तत्वहरु दोषी हुने बताउनुभयो ।

ल कलेजले विद्यार्थीहरुलाई कानुन बाहेक देशको भूगोल, राजनीतिशास्त्र, धर्म, इतिहासबारे पनि अध्ययन गराउनुपर्ने बताउँदै उहाँले कानुनी विद्यार्थीहरुले तात्कालीन राजनीतिक र सामाजिक विषयबारे पनि अध्ययनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाले निर्वाचनको घोषणापत्रमा नयाँ नयाँ विषयका कलेजहरु सञ्चालन गर्ने प्रतिबद्धताअनुसार विद्यार्थीको चाहना र देशको आवश्यकताअनुसार २०७९ सालबाट ख्वप कलेज अफ ल सञ्चालनमा ल्याएको बताउनुभयो ।

सीमित सिट संख्याका कारण चाहेर पनि ख्वप कलेज अफ लले धेरै विद्यार्थीलाई कानुन अध्यापन गराउन नसकिरहेको बताउँदै उहाँले कानुनका विद्यार्थीहरु सामाजिक र व्यवहारिक रुपमा पनि अब्बल बन्नुपर्छ भन्नुभयो ।

प्रमुख प्रजापतिले पुँजीवादी गणतन्त्रको विकल्प वैज्ञानिक समाजवाद हो भन्दै पुँजीवादी वर्ग मजदुर वर्गको साथी कहिल्यै हुन नसक्ने बताउँदै समाजवादी गणतन्त्र नै कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो ।

सञ्चालक समितिका उपाध्यक्ष एवं उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शैक्षिक रुपमा अगाडि बढाउन नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको महत्वपूर्ण देन रहेको बताउँदै नगरपालिकाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य पनि ढिलोचाडो पूरा हुने विश्वास व्यक्त गनुभयो ।

कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले कानुन व्यवसाय झ्न झन् चुनौतीपूर्ण बन्दै गइरहेको कानुन व्यवसायीहरु कानुन निर्माणको उद्देश्यबारे प्रष्ट हुनुपर्ने बताउनुभयो ।

कानुन व्यवसायीहरुले अन्तर्राष्ट्रिय विषयमा पनि अध्ययन अनुसन्धान गरी व्यापक दृष्टिकोण लिएर काम गर्नुपर्ने बताउँदै उहाँले न्यायाधीश नियुक्तिमा भागबण्डाको राजनीतिले गर्दा देशको न्यायलय पनि दुर्गन्धित बनिरहेको बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले नयाँ नयाँ ज्ञान र सीप सिक्नबाट विद्यार्थीहरु सँधै अभिप्रेरित भइरहनुपर्ने बताउँदै सिकाइले हाम्रो अज्ञानताबारे अझ प्रष्ट हुने अवसर प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले कलेज स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै न्याय र समानताको लागि विद्यार्थीहरुले सत्यको पक्षमा लड्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थी प्रतिनिधि दिलबहादुर भण्डारी र जिविता कुँवरले ख्वप कलेज अफ लमा अध्ययन गर्दाको अनुभव बताएका थिए भने विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतीहरु पनि देखाएका थिए ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.