kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

एड्भान्स पाक शिक्षा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण

भक्तपुर

भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित एड्भान्स पाक शिक्षा तालिम समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नागरिकलाई आत्मनिर्भर र आर्थिक रुपले सबल बनाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर नपाले युवा र महिला लक्षित सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

सबै मान्छे सबैमा पूर्ण नहुने तर उसमा विशेष क्षमता र विशेषता हुने बताउँदै उहाँले मानव जीवनको दैनिक जीवनयापनसँग सम्बन्धित पाक शिक्षा धेरै राम्रो व्यवसायको रुपमा रहेको चर्चा गर्नुभयो ।

नेपाल संसारकै राम्रो हावापानी भएको देश भएको बताउँदै उहाँले अब नेपालीहरु विदेश जाने होइन, विदेशीलाई नेपाल भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

भक्तपुर सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास भइरहँदा यहाँ पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि चलायमान बनाउने धेरै सम्भावनाहरु रहेको बताउँदै प्रमुख प्रजापतिले श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले पाक शिक्षा कला र सिर्जनशीलतासँग पनि जोडिएको पेशा हो भन्दै मौलिक खानाका परिकारहरुलाई होटल व्यवसायीहरुले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पाक शिक्षालाई अभौतिक सम्पत्तिको रुपमा व्याख्या गर्दै मौलिक खानाको माध्यमबाट पनि भक्तपुरको पहिचान कायम गर्न सकिने बताउनुभयो ।

कार्यक्रमका सभापति कार्यपालिका सदस्य रोशनमैया सुवालले प्रशिक्षार्थीहरुले तालिमबाट सिकेको ज्ञान र सीपबाट आफ्नो जीवनलाई अझ परिस्कृत बनाउन टेवा पुग्ने विश्वास गर्दै आजका प्रशिक्षार्थी भोलिको व्यवसायीको रुपमा विकास हुन प्रेरणा दिनुभयो ।

कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, वडा सदस्य हेरा ख्याजु, पाक शिक्षा तालिम प्रशिक्षक विष्णु श्रेष्ठ, प्रशिक्षार्थी रमेश कायस्थले तालिमको उपलब्धी र महत्वमाथि प्रकाश पार्नुभयो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.