kathmanduonlinemedia.com

शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने

भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सरस्वती विद्यागृहमा एसईई २०८१ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार एक कार्यक्रमबीच सम्पन्न भयो । कार्यक्रममा नगर प्रमुख प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थीहरुलाई बधाई र मायाको चिनो वितरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै उहाँले शिक्षकहरुको मेहेनत र स्वयम्सेवी भावनाले विद्यालयको प्रगति र विकासमा सघाउ पुर्याउने बताउँदै सरस्वती विद्यागृहलाई प्रतिष्ठित विद्यालयको रुपमा स्थापित गर्न नेतृत्वमा बस्नेहरु क्रियाशील हुन जरुरी रहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपामा यस वर्षको एसईईमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएको र यसलाई शत प्रतिशत बनाउन घच्घच्याइरहेको बताउँदै सामुदायिक विद्यालयप्रति अभिभावक र स्थानीय जनताको विश्वास कायम गर्ने ढंगले शिक्षकहरुले मेहेनत गर्नुपर्ने बताउनुभयो ।

राज्यको धेरै लगानी भएको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई राम्रो बनाउने प्रयास गर्नुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुलाई व्यवहारिक र नैतिक शिक्षा प्रदान गर्नेतर्फ पनि विद्यालयले जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि छात्रवृत्ति र शैक्षिक ऋण जस्ता विद्यार्थी केन्द्रित कार्यक्रम अगाडि सारेको बताउँद्रै उहाँले सामुदायिक र निजी विद्यालयको बीच शैक्षिक भेद अन्त्य गर्ने किसिमले शिक्षा क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।

सबै क्षेत्रमा कानुन विषयको महत्वमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाले भक्तपुरमै शिक्षा, मानविकी, व्यवस्थापन, विज्ञान, कानुन, नर्सिङ, इन्जिनियरियरिङलगायतका विषय अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।

संस्थाको दिगो विकासका लागि व्यवस्थापक, शिक्षक र विद्यार्थी, अभिभावकहरुको संयुक्त पहल र समन्वय आवश्यक भएको उहाँले सोही क्रममा बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले सरस्वती विद्यागृहको प्रगतिमा शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण भूमिका रहेको बताउँदै राज्यलाई बलियो बनाउन सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरोन्नतिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विद्यालयमा हाल ४९४ जना विद्यार्थी अध्ययनरत रहेको बताउँदै यो संख्यालाई अझ बढाउन सबैको मेहेनत आवश्यक भएको बताउँदै संस्था सञ्चालनको लागि शिक्षक, व्यवस्थापक, विद्यार्थी, अभिभावक र स्थानीय जनताको बराबर भूमिका रहेको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक गनुराज राईले विद्यालयको एसईई नतिजा सन्तोषजनक रहेको बताउँदै विद्यार्थीहरुले परीक्षामा जीपीए धेरै ल्याएर मात्र सफल हुने होइन, व्यवहारिक जीवनमा सफल हुन जरुरी रहेको बताउनुभयो ।

सामुदायिक विद्यालय समन्वय समितिका अध्यक्ष ज्ञानसागर प्रजापतिले शिक्षा, मानविकी, व्यवस्थापन जस्ता विषयको महत्वबारे विद्यार्थीहरुलाई मार्गनिर्देश गर्न जरुरी रहेको बताउँदै सबै विषयहरुको आआफ्नो महत्व छ भन्नुभयो ।

कमजोर विद्यालयहरुलाई गाँभ्ने सरकारको नीति खोटपूर्ण रहेको बताउँदै उहाँले विद्यार्थीहरुले आज गरेको मेहेनतले भोलिको भविष्य उज्यालो हुने बताउनुभयो ।

सरस्वती विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष माधव नारायण कोण्डाले एसईईमा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनु गौरवको विषय भएको बताउँदै एसईई उत्तीर्ण विद्यार्थीलाई अब के विषय, कहाँ अध्ययन गर्ने भन्नेबारे परामर्श गर्न जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तपेन्द्र बुढाले विद्यालयले विद्यार्थीको उद्देश्य पूरा गर्न यहाँका अनुभवी शिक्षकहरुको धेरै ठूलो योगदान पुर्याएको स्मरण गर्नुभयो ।

कार्यक्रममा सरस्वती विद्यागृह कक्षा १० मा अध्यापनरत शिक्षकहरुलाई उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.