kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

आर्थिक अवस्था कमजोर विद्यार्थीलाई उच्च शिक्षाको सहजताको लागि शैक्षिक ऋणको व्यवस्था

भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका नगरबासीहरुका सन्तानहरुलाई आर्थिक कारण उच्च शिक्षा हासिल गर्न कुनै बाधा नपुगोस् भन्ने उद्देश्यले नगरपालिकाले शैक्षिक ऋण दिने व्यवस्था गरेको बताउनुभयो ।

भनपा वडा नं. ७ कार्यालयबाट आयोजित शैक्षिक ऋण लिई उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दे प्रमुख प्रजापतिले प्रत्येक विद्यार्थीहरुले आआफ्नो विषयमा विशेषज्ञता हासिल गरी देश र समाजको सेवामा लाग्ने आशा व्यक्त गर्नुभयो ।

सरकारी विद्यालय र कलेजहरुको शैक्षिक गुणस्तर कमजोर हुनुको कारण सरकारले निजी क्षेत्रलाई प्राथमिकता दिनुले हो भन्दै उहाँले २७ हजार विद्यालयमा १५ हजार बढी विद्यालयमा १०० भन्दा कम विद्यार्थी हुन ५०० भन्दा बढी कलेजहरु विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुग्नु शिक्षा क्षेत्रमा सरकारको असफलता हो भन्नुभयो ।

‘भक्तपुरमा पहिले शैक्षिक क्षेत्र निकै कमजोर थियो । यहाँका समाजका अगुवाहरु र स्थानीय जनता, जनप्रतिनिधिको पहलमा आजको अवस्थामा पुगेको हो । भक्तपुरको शैक्षिक र समग्र विकासको किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन र विभिन्न आन्दोलनमा भाग लिने जनताको महत्वपूर्ण योगदान छ’— उहाँले भन्नुभयो ।

पार्टी भनेको मान्छेको भिड नभई विचार र सिद्धान्तको आधारमा आदर्श समाज निर्माणको लागि संगठित जनताको जमात भएको बताउँदै उहाँले भनपामा नेमकिपाका कार्यकर्ताहरु जितेको कारण पार्टीको नीति तथा सिद्धान्त अनुसार जनताको हितमा काम भइरहेको उल्लेख गर्नुुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले शैक्षिक ऋण दिएर नगरपालिकाले विद्यार्थीहरुलाई गुण लगाएको हुँदा पढाइ सकेपछि नेपालमै बसेर समाजको इमानदारीपूर्वक सेवा गरेर गुण तिर्नुपर्ने बताउनुभयो ।

शिक्षाको माध्यमबाट समाजमा परिवर्तन ल्याउन शैक्षिक ऋणको व्यवस्था गर्दै आएकोमा विद्यार्थीहरुले त्यसको सही प्रयोग गर्नुपर्नेतर्फ ध्यानाकर्षण गर्नुभयो ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका सचिव दिनेश खड्गीले भनपाले शैक्षिक ऋण उपलब्ध गराउनु अत्यन्त सराहनीय कार्य भएको र इतिहास, भूगोल जस्ता विषयमा छात्रवृत्तिको व्यवस्थाले भक्तपुरका धेरै विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने अवसर पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

शैक्षिक ऋण लिएर नर्सिङ उत्तीर्ण गरेकी संगिता तुईतुईले ऋणको व्यवस्था नभएको भए आफूले नर्सिङ पढाइ पूरा गर्न नसक्ने बताउँदै नपालाई ऋण प्रदान गरेकोमा धन्यवाद दिनुभयो ।

भनपा ७ मा ५३ जना विद्यार्थीले रु. ५ लाखका दरले ऋण स्वीकृति गरी भनपाबाट ऋण लिइ अध्ययन गरिरहेकोमा ९ जनाले ऋण चुक्ता गरिसकेका छन् । भनपाले ७५१ जनालाई ऋण स्वीकृत गरी रु. १५ करोडभन्दा बढी ऋण प्रवाह गरिरहेको छ । आ.व. २०८२।८३ को लागि पनि शैक्षिक ऋण सम्बन्धी सूचना प्रकाशित गरिसकेको छ । नपाका अनुसार ६४ जनाले रु. ३ करोडभन्दा बढी ऋण फिर्ता गरिसकेका छन् ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.