Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

जनज्योति पुस्तकालयलाई स्तरीय पुस्तकालयको रूपमा विकास गर्ने कोसिस

केही वर्ष अघिदेखि भक्तपुर नगरपालिकाले पुस्तकालय दिवस मनाउँदै आएको छ । आधुनिक प्रविधिको विकाससँगै युवाहरू मोबाइलमा व्यस्त हुन थालेको र मोबाइलमै धेरै पुस्तकहरू पाइने भएकोले युवा विद्यार्थीहरू पुस्तकालयमा आउने क्रममा कमी हुँदै गएको सबैले अनुभव गरेकै विषय हो । भक्तपुर नपाले पुस्तकालय दिवस मनाउनुको अर्थ नयाँ पुस्तामा पठन संस्कृतिको विकास गर्न हो ।

पुस्तकालय ज्ञानको भण्डार भएकोले समाज रुपान्तरणमा यसले महत्वपूर्ण भूमिका खेल्छ । जहाँ पुस्तकालयहरूको विकास हुन्छ, त्यहाँको समाज अगाडि बढेको हुन्छ । पुस्तकालयको अवस्थाले समाजको अवस्था थाहा पाउन मद्दत गर्छ । विगतको इतिहास हेर्ने हो भने राणाहरू, सामन्तहरू, विकास विरोधीहरू पुस्तकालयप्रति सकारात्मक थिएनन् ।

वि.सं. १९८७ सालको कुरा हो । आजभन्दा ९५ वर्षअघि नेपालमा सार्वजनिक पुस्तकालय खोल्न केही युवाहरूले अगुवाइ गरे । राणाशासनमा त्यो सम्भव थिएन । जनतामा राजनैतिक चेतना फैलाउने हरेक कामलाई उनीहरू अपराध ठान्थे । त्यतिबेला चित्तधर हृदय, धर्मराज थपलिया, कृष्णप्रसाद कोइरालाहरूले तत्कालीन प्रधानमन्त्री भीम शमशेरसँग अनुमतिको लागि निवेदन दिए ।

भीम शमशेरले राजनैतिक उद्देश्यले पुस्तकालय खोल्न लागेको आरोप लगाएर ती सबैलाई थुन्ने र ‘आयन्दा यस्तो काम गर्ने छैनौँ’ भनी कागज गराई प्रतिव्यक्ति रु. १००।– का दरले जरिवाना गरी छाडेको इतिहास पढ्न पाइन्छ । त्यतिखेर १००।– रुपैयाँ भनेको निकै ठुलो रकम हो ।

विकासको गतिलाई रोक्न खोज्नु सूर्यलाई हत्केलाले छेक्ने प्रयासजत्तिकै असम्भव थियो । जनतामा राजनैतिक चेतनास्तरको विकाससँगै नेपालमा १०४ वर्षे जहाँनिया शासनको पनि अन्त्य भयो । प्रजातन्त्रको स्थापनासँगै जिल्ला जिल्ला र टोल टोलमा पुस्तकालयहरू खुल्न थालियो । पुस्तकालयहरू ज्ञानको ज्योति फैलाउने केन्द्रको रुपमा विकास हुन थाले । प्राध्यापक, शिक्षक, बुद्धिजीवी, युवा विद्यार्थी सबैको आकर्षणको केन्द्र बनेको थियो— पुस्तकालय । अन्तर्राष्ट्रिय घटनाहरू, देशको समसामयिक राजनैतिक विषयहरू, अन्य सामाजिक—राजनैतिक विषयमा छलफल गर्ने ठाउँ थियो —पुस्तकालय । तर, आधुनिक प्रविधिको विकाससँगै त्यसमा कमी आएको छ । यो चिन्ताको विषय हो ।

हाल नेपालमा ९ सय भन्दा बढी पुस्तकालय रहेको तथ्याङ्क भए पनि मुस्किलले २ सय वटा जति चलेको र अझ कतिपय पुस्तकालयहरू आर्थिक अभाव र पढ्न आउने व्यक्तिहरू कम भएकोले बन्द हुँदै गएको हामी सुन्दै छौँ । यसबारे भक्तपुर नगरपालिका भने सचेत छ ।

२०७४ सालमा पहिलो कार्यकालको लागि हामी निर्वाचित भएको बेला भक्तपुर नपाबाट सञ्चालित जनज्योति पुस्तकालय दरबार क्षेत्रको एउटा सानो भवनमा सञ्चालित थियो । निर्वाचन घोषणापत्रमा शिक्षा विषयमा एउटा बुँदा थियो — ‘जनज्योति पुस्तकालयलाई देशकै नमुना पुस्तकालय बनाउने !’ त्यो महत्वपूर्ण जिम्मेवारी हाम्रो काँधमा थियो । हामी त्यसमा केन्द्रित भएर काम गयौँ । हामीले उपयुक्त ठाउँको खोजी गर्ने क्रममा देको–मिवा–इटापाके आवास योजना रहेको कार्यालय रहेको भवनलाई उपयुक्त देख्यौँ र त्यहीं सार्ने निर्णय ग¥यौँ ।

२०७९ सालको निर्वाचन घोषणापत्रमा जनज्योति पुस्तकालयलाई विद्युतीय पुस्तकालयको रुपमा विकास गर्ने उल्लेख थियो । निर्वाचित भएकै दुई वर्षभित्रै त्यो काम पनि पूरा ग¥यौँ । अहिले धेरै बुद्धिजीवीहरू, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरू, शोधकर्ताहरू पुस्तकालयमा अध्ययन गरिरहेको पाउँदा खुसी लाग्छ । निर्वाचनमा जनतालाई दिएको वचनअनुसार कार्यहरू गरेकोमध्ये त्यो पनि एक महत्वपूर्ण कार्य हो । अहिले देशका विभिन्न पालिकाका मेयर, उपमेयर, सांसद, मन्त्रीहरू आउनुहुन्छ; पुस्तकालयको भ्रमण गर्नुहुन्छ र व्यवस्थित पुस्तकालय सञ्चालनको अवस्था देखेर सकारात्मक टिप्पणी गर्नुभएको पाएका छौँ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले पुस्तकालय र वाचनालय सञ्चालन पनि पालिकाहरूको कामको रूपमा उल्लेख गरेपछि हामीले नगरका पुस्तकालय, वाचनालयहरूका अभिलेख तयार ग¥यौँ, बैठकहरू राख्यौँ र समिति बनाएर सबै पुस्तकालयबारे जानकारी लियौँ । त्यसको आधारमा आर्थिक, भौतिक सुधारको लागि सहयोग पनि ग¥यौँ तर आशा गरेअनुसारको पुस्तकालय सञ्चालनमा सुधार भएको भने पाएनौँ ।

विकास भनेको चौडा चौडा सडक, अग्ला अग्ला आकाश छुने घरहरू, भ्यु टावरहरूको निर्माण मात्र होइन । धेरै पालिकाहरूले त्यसैलाई विकासको रूपमा परिभाषित गर्दैछन् । तर, भक्तपुर नगरपालिकाले भने मानिसको चेतनास्तरको विकासलाई पहिलो विकासको मापदण्ड मानेर काम गरिरहेको छ । भौतिक र मानसिक विकाससँगै भक्तपुरलाई विकास गर्ने सोचले भक्तपुर नगरपालिकाले काम गरिरहेको छ । अध्यक्ष रोहितले आजभन्दा दुई दशकअगाडि भक्तपुरलाई ‘ज्ञान विज्ञानको केन्द्र’ बनाउने घोषणा गर्नुभएको थियो । धेरैको लागि त्यो अपत्यारिलो थियो । आज विभिन्न कलेजहरूको सञ्चालन र विद्यालयमा गुणस्तरीय शिक्षाले त्यो साकार हुँदै गइरहेको देख्न सकिन्छ । भनपाले शैक्षिक विकासको निम्ति सक्दो सहयोग गरिरहेको छ ।

लेखक, साहित्यकार, कलाकारहरूलाई जीवन्तता दिने ठाउँ पनि पुस्तकालय नै हो । पुराना पुराना, प्राचीन कालका दस्ताबेजहरू पुस्तकालयमा सङ्ग्रह गरिएका हुन्छन् । तर, हामीले दुःखका साथ भन्नुपर्छ वि.सं. १८२६ मा पृथ्वीनारायण शाहले भक्तपुरमा आक्रमण गर्दा साकोठामा अवस्थित पुस्तकालय जलाइदिएको कारण धेरै पुराना दस्ताबेजहरू समाप्त भएको अध्ययन गर्छौँ । त्यहाँ नालन्दा विश्वविद्यालय, विक्रमशील विश्वविद्यालय, सिम्रौनगढ राज्यबाट ल्याइएका बहुमूल्य हिन्दू र बौद्ध ग्रन्थहरू थिए भन्ने पढ्न पाइन्छ । त्यहाँका पुस्तक मात्र जलेका होइनन् कैयौँ प्राचीन इतिहास पनि समाप्त भए । त्यतिखेर भक्तपुरका ५ सय घरहरू ध्वस्त भएका र २ हजार मानिसहरू मारिएको कुरा विश्वमोहन जोशीले लेखेको ‘ख्वपको राजनैतिक इतिहास’बारे लेखमा उल्लेख गर्नुभएको छ ।

आज चीन विश्वको दोस्रो अर्थतन्त्र भएको देशको रुपमा अगाडि बढ्दै छ । आजभन्दा ६५ वर्षअघि नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (सन् १९६०) मा चीनको पेकिङ पुस्तकालय भ्रमण गर्नुभएको ‘चीन भ्रमण’ पुस्तकमा उल्लेख गर्नुभएको छ ।

त्यस पुस्तकालयमा ‘माक्र्स एङ्गेल्सका हस्तलिखित रचनाहरू, चाउ एन लाइद्वारा सम्पादित पुस्तकहरूलगायत ६५ भाषाका पुस्तकहरू रहेको उल्लेख छ । ४ सय जनाभन्दा बढी कर्मचारीहरू बिहान ९ः३० देखि राती ८.०० बजेसम्म सञ्चालन हुने उल्लेख छ ।

हामी आज पनि त्यो तुलनामा धेरै पछि छौँ । हाम्रा कलेजका पुस्तकालय कर्मचारी, साथीहरू, टोल टोलका पुस्तकालय र वाचनालय सञ्चालक सम्पूर्णमा हाम्रो आग्रह छ । पुस्तकालय र वाचनालयलाई व्यवस्थित रुपमा सञ्चालन गरौँ ! संसारमा नयाँ नयाँ पुस्तकहरू के कस्ता प्रकाशित भएका छन्, नेपाली लेखकहरूले प्रकाशित गरेका नयाँ नयाँ पुस्तकहरू कुन कुन छन् त्यसबारे छलफल र अन्तरक्रिया कार्यक्रमहरूको आयोजना गरेर युवा पुस्ताबिच पठन संस्कृतिको विकासमा जोड दिऔँ

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.