
भक्तपुर
‘नयाँ पुस्ताले सबैभन्दा पहिला आप्mनो देशलाई चिन्ने, अनि संसारका घट्नाक्रमको विश्लेषण गर्ने र त्यसपछि देशको विकास र प्रगतिका लागि निःस्वार्थपूर्वक काम गर्ने । यसलाई मन्त्र जस्तै मानेर अध्ययन र राजनैतिक–सामाजिक गतिविधिमा सक्रियतापूर्वक लाग्नुपर्छ ।’
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव का. प्रेम सुवालले शनिबार आयोजित एक समारोहमा नयाँ पुस्तालाई उत्साहित गर्दै उपर्युक्त भनाइ राख्नुभयो । नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुर नगरपालिका ९ नं. वडा समितिको आयोजनामा सम्पन्न प्रवीणता प्रमाणपत्र तहदेखि एमफिल–विद्यावारिधीसम्म उत्तीर्ण विद्यार्थीहरुलाई बधाइ ज्ञापन तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि सुवालले देश र जनताको निम्ति गरिने राजनीति सजिलो नभएको बताउनुभयो ।
शासक दलहरुले राजनीतिको नाममा भ्रष्टाचार, नातावाद, गुण्डागर्दी र भागबण्डा गर्दै देशलाई बर्बादीतर्फ धकेलिरहेको विरोधमा युवा पुस्ताले विद्रोह त गरे तर सही राजनैतिक दर्शन र सबल नेतृत्वको अभावमा देश थप संकटमा पुगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘भाद्र २३ र २४ गतेको हिँसात्मक आन्दोलन संरा अमेरिकी आर्थिक संस्थाहरु ‘एनइडी’ र ‘आइआरआइ’ बाट प्रत्यक्ष निर्देशित र प्रायोजित भएको प्रमाणसहितका लेखहरु प्रकाशित भइरहेका छन् ।’
समसामयिक राजनैतिक अवस्थाको विषयमा जानकारी दिनुहुँदै पार्टी सचिव का. सुवालले फागुन २१ गतेको चुनाव अझै पनि अन्यौलपूर्ण रहेको अवस्थामा आगामी प्रधानमन्त्री को बन्ने भन्ने छलफल हुनु सही नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री को बन्ने भन्दा पनि देश र जनताको सेवामा के के नीति तथा कार्यक्रम ल्याउने भन्ने छलफलमा केन्द्रीत हुनुपर्ने हो ।’
शासकहरु युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गरी देशको प्रगतिको बाटो कोर्ने दिशातर्फ उन्मुख हुनुको साटो पासपोर्ट छाप्ने र युवाहरुलाई विदेश निर्यात गर्नेतिर लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘देशको वैदेशिक ऋण २८ खर्ब पुग्यो र प्रत्येक नेपालीको टाउकोमा झण्डै एक लाख ऋणको भार छ । सरकार भने ऋण तिर्न पनि विदेशी ऋण लिँदैछ । शासक दलहरुकै कारण हामीले दुर्भाग्य भोग्नुपरेको हो ।’
सचिव प्रजापतिले वैदेशिक ऋण लिएर देशको आर्थिक प्रगति गरेको उदाहरण विश्वमा कहिँ पनि नभएको प्रष्ट पार्दै नयाँ पुस्तालाई देश र समाजप्रति उत्तरदायी बनी आफ्नो अध्ययन र सीपलाई समाजकै प्रगतिमा लगाउन सुझाव दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले चिनिया क्रान्तिका महान् गुरु का. माओ त्से तुङ्गको जन्मदिवसको सन्दर्भ जोड्दै चिनिया समाजवादी व्यवस्थामा शिक्षा र स्वास्थ्य उपचार सेवा हरेक नागरिकको अधिकार हुने र श्रमसंग जोडिएको शिक्षा प्रणाली भएकोले चिनिया युवाहरु आप्mनो देशको प्रगतिका लागि निरन्तर मेहनत गरिरहेको बताउनुभयो । चिनिया भूमि तिब्बतमा हरेक नागरिकलाई विद्युत, खानेपानी, इन्टरनेट, आवास र शिक्षा–स्वास्थ्य सेवा सरकारको तर्फबाट निःशुल्क प्राप्त हुने जानकारी गराउँदै उहाँले नेपालमा पूँजीवादी व्यवस्था भएकोले सबै चिज पैसाले किन्नपर्ने र गरीव जनताको पहुँचमा शिक्षा–स्वास्थ्य नभएको बताउनुभयो ।
पार्टी वडा समितिका अध्यक्ष कृष्णभक्त लवजूले पार्टीका अग्रज कार्यकर्ताहरुको संघर्षको प्रतिफल स्वरुप नयाँ पुस्ताले विद्यालय र कलेजहरुमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर पाइरहेको चर्चा गर्दै युवाहरुको साँस्कृतिक स्तर उठाउन अझै मेहनत गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्राविसंघ २४ औं भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका सचिव सुजी हेंग्वजूले नयाँ पुस्तामा सही राजनैतिक दृष्टिकोणको विकास हुन आवश्यक रहेको उल्लेख गर्दै विचारशुन्य नेतृत्वले देशलाई खाल्डोमा जाक्ने खतरा रहनेमा सचेत हुनुपर्ने बताउनुभयो ।
नेक्राविसंघ भक्तपुर नगर समितिका सचिव प्रज्वल खत्रीले नयाँ पुस्तामा अन्याय अत्याचार र भ्रष्टाचार विरुद्ध आक्रोश हुनु स्वभाविक रहेको बताउँदै संगठित आवाजका लागि नेक्राविसंघमा आवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका संयोजक राज प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका दिपिका लवजू, सगुन धन्छा, सनम फैजू, देवान्स मानन्धर, जोयल मानन्धर लगायतले विद्यार्थी गतिविधिबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा प्लस टु÷प्रवीणता प्रमाणपत्र तहका १४५ जना, स्नातक तहका ४५ जना, स्नातकोत्तर तहका ४० जना, एमफिल तहका २ जना र विद्यावारिधी गर्ने ४ जना गरी जम्मा २३४ जना विद्यार्थीहरुलाई बधाइ पत्र तथा मायाको चिनो प्रदान गरिएको आयोजक समितिले बताएको छ ।
औपचारिक कार्यक्रम पश्चात विभिन्न प्रगतिशील गीत संगीतमा नृत्य, समसामयिक विषयमा नाटक तथा वाद्यवादन पनि प्रस्तुत गरिएको थियो ।