भक्तपुर
भक्तपुर जिल्ला जनस्वास्थ्य कार्यालय र ख्वप अस्पतालको प्राविधिक सहयोग तथा भक्तपुर नगरपालिका ९ नं. वडा कार्यायलयको आयोजनामा आइतबार श्वासप्रश्वास पुनःस्थापना केन्द्र, तुमचोमा फोक्सो परीक्षण शिविर सम्पन्न भयो । विश्व क्षयरोग दिवस (मार्च २४) को अवसरमा क्षयरोगमुक्त समाज निर्माण गर्ने अभियान अन्तर्गत उक्त शिविर भएको आयोजकले बताएको छ । ए.आई प्रविधिको अत्याधुनिक एक्स रे मेसिन र विशेषज्ञ डाक्टरको उपस्थितिमा सम्पन्न उक्त शिविरमा ३२२ जना नागरिकहरुको परीक्षण गरिएको जानकारी दिइएको छ ।

शिविर शुरु हुनुपूर्व भएको औपचारिक कार्यक्रममा वडाध्यक्ष रविन्द्र ज्याख्वले वायु प्रदुषण तथा धुम्रपानको कारण फोक्सो सम्बन्धि विभिन्न रोगहरुबाट पीडितहरुको संख्या बढिरहेको चर्चा गर्दै समयमै फोक्सो जाँच गराउन सबैमा अनुरोध गर्नुभयो । स्वस्थ नागरिकले परिवार र समाजको प्रगतिका लागि योगदान गर्न सक्ने उल्लेख गर्दै उहाँले भक्तपुर नगरपालिकाले नागरिकहरुको स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेको प्रष्ट पार्नुभयो ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अञ्जना खड्काले भक्तपुर नगरपालिकाले घरदैलो नर्सिङ्ग सेवा सञ्चालन गरिरहेकैले नगरवासीहरुमा रोगको शुरुवाती चरणमा नै उपचार गर्न सम्भव भएको बताउनुभयो । उहाँले विरामीलाई हेला होइन, माया गर्दै निरन्तर उपचार सेवामा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
ख्वप अस्पतालका चिकित्सक डा. रत्न सुन्दर लासिवाले धुवाँ धुलोसंगै चिसोपना र व्याक्टेरिया, भाइरसका कारण फोक्सोसम्बन्धि विभिन्न रोगहरु लाग्न सक्ने चर्चा गर्दै क्षयरोगका लक्षण र उपचार विधिबारे जानकारी दिनुभयो ।
शिविरमा २१९ जना महिला र १०३ जना पुरुषहरुको एक्स रे परीक्षण गरिएकोमा २६ जना महिला र ९ जना पुरुषहरुको खकार परीक्षण पनि गराइएको तथा ८ जनामा क्षयरोगका जीवाणुहरु देखिएको जानकारी दिँदै वडाध्यक्ष ज्याख्वले उहाँहरुको निःशुल्क औषधी उपचार भएको समेत बताउनुभयो ।