भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज नगर प्रहरी, वडा निरीक्षक र बजार व्यवस्थापकहरुसँग बैठक बस्यो ।बैठकमा नगरको फोहोर, ढल, सडक, पार्किङ, तरकारी बजार व्यवस्थापन, अनियमित निर्माण, सामुदायिक पशुपंक्षी नियन्त्रण, निर्माण सामाग्री व्यवस्थापन, मर्मत सम्भार, उच्छृङखल गतिविधि, पर्ति र सार्वजनिक जग्गा संरक्षण तथा हकर्स नियन्त्रण आदि विषयमा छलफल भयो ।
बैठकमा बोल्दै नगर प्रमुख प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर भएको बताउँदै भक्तपुर नगरपालिकाले यहाँका मूर्त र अमूर्त कला र संस्कृति तथा सम्पदाहरुलाई जीवन्तता दिने काम गरिरहेको बताउनुभयो ।
नगरपालिकाको नीति, योजना र कार्यक्रम जनतासमक्ष लैजाने काम कर्मचारीहरुबाट हुने बताउँदै उहाँले कर्मचारीहरु ज्ञान, सीप र क्षमताका हिसाबले अब्बल हुने हुँदा आफ्नो राम्रो बोली, व्यवहार र आचरण प्रस्तुत गरेर काम गर्नुपर्ने बताउनुभयो ।
नगरबासीका हित र सुरक्षामा ध्यान केन्द्रित भई काम गर्न प्रेरित गर्दै उहाँले नगर प्रहरी, वडा निरीक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
जनतालाई सास्ती हुने कुनै पनि काम गर्न नहुने बताउँदै उहाँले कर्मचारीहरु व्यक्तिगत फाइदाको लागि काम गर्न नहुने र जनताको अपेक्षाअनुसार परिचालित हुनु जरुरी रहेको बताउनुभयो ।
उक्त बैठकमा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले कर्मचारीहरुमा नागरिकहरुमा भन्दा बढी नागरिक भावना हुनुपर्ने बताउँदै जनताले नगरपालिका र कर्मचारीहरुको काम नजिकबाट सूक्ष्म ढंग नियालिरहेको हुने हुँदा सचेत र विवेकशील ढंगले काम गर्नुपर्ने बताउनुभयो ।
बैठकमा उपस्थित कर्मचारीहरुले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने विषयमा आआफ्ना धारणा राखेका थिए ।