Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

ख्वप इन्जिनियरिङ कलेजमा ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी शुभारम्भ

भक्तपुर

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको आयोजनामा दुईदिने ‘आरोहण २’ राष्ट्रिय प्रदर्शनी आज एक विशेष समारोहबीच शुभारम्भ भयो । बी.ई. तथा बी.आर्क. अध्ययनरत विद्यार्थीहरू र ख्वप आर्किटेक्चरल स्टुडेन्ट्स एक्टिभिटी सर्कलको नेतृत्वमा आयोजित उक्त प्रदर्शनी श्रावण ७ र ८ गते बिहान ९ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कलेज परिसरमा सञ्चालन गरिएको छ ।

प्रदर्शनीमा वास्तुकलाका थेसिस, इन्जिनियरिङका अन्तिम वर्षका परियोजनाहरू, डिजाइन स्टुडियोका कार्यहरू, अनुसन्धानमूलक सिर्जनाहरू, नवीन प्रविधिमा आधारित नमूनाहरू तथा विविध प्रदर्शनी स्टलहरू राखिएका छन् । यसले विद्यार्थीहरूको सिर्जनशीलता, प्राविधिक दक्षता तथा व्यावहारिक सीपलाई विद्यार्थी, प्राध्यापक, पेशागत विज्ञ तथा सर्वसाधारणसमक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ ।

कार्यक्रमको उद्घाटन भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख तथा ख्वप इन्जिनियरिङ कलेज व्यवस्थापन समितिका उपाध्यक्ष आर्किटेक्ट रजनी जोशीले कलेजले आफ्नो स्थापनाको २५ औँ वर्ष मनाइरहेको उल्लेख गर्दै कलेज स्थापना गर्न गरिएको संघर्ष र समर्पणको स्मरण गर्नुभयो । उहाँले सक्षम प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएको बताउँदै त्यस उद्देश्यलाई सफल बनाउन अनुशासित, मेहनती तथा समर्पित शिक्षक–कर्मचारी र विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

उहाँले पाठ्यक्रममा आधारित अध्ययनसँगै अतिरिक्त क्रियाकलापहरूले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।

साथै अन्तरविषयगत सहकार्यले विभिन्न विषयका विद्यार्थीहरूबीच सहकार्यको भावना विकास गर्नुका साथै कक्षाकोठामा आर्जित सैद्धान्तिक ज्ञान र सीपलाई व्यावहारिक जीवन तथा पेशामा रूपान्तरण गरी राष्ट्र र जनताको सेवामा समर्पित हुन प्रेरणा प्रदान गर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इन्जिनियर सुजन माकले प्रदर्शनीमा प्रस्तुत विद्यार्थीहरूको सिर्जनशीलता, सीप, लगनशीलता तथा समर्पणप्रति प्रशंसा गर्नुभयो । उहाँले यस्ता प्रदर्शनीहरू विद्यार्थीहरूबीच ज्ञान, अनुभव र नवीन विचारहरूको आदानप्रदान हुने उत्कृष्ट पीयर–लर्निङ मञ्च भएको उल्लेख गर्दै यसले शिक्षालाई अझ जीवनोपयोगी, व्यवहारिक र मूल्यवान बनाउने बताउनुभयो ।

त्यसैगरी ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इन्जिनियर सुनिल दुवालले यस्ता कार्यक्रमहरू विद्यार्थी जीवनका अविस्मरणीय अनुभव बन्ने उल्लेख गर्दै यस्ता गतिविधिहरूले कक्षाकोठामा हासिल गरिएको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर प्रदान गर्ने र सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउने धारणा व्यक्त गर्नुभयो ।

ख्वपइन्जिनियरिङ कलेजका उप–प्राचार्य इन्जिनियर सुबेगमान बिजुक्छेँले कलेजले विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र प्राविधिक दक्षतालाई उजागर गर्न निरन्तर अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।

यसअघि आर्किटेक्टर विभाग प्रमुख आर्किटेक्ट अर्चना बाडे श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण आगन्तुकहरूलाई स्वागत गर्नुभएको थियो । उहाँले प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूमा नवप्रवर्तनको भावना विकास गर्नु, शैक्षिक सहकार्यलाई सुदृढ बनाउनु तथा उनीहरूले गरेका अध्ययन, अनुसन्धान र डिजाइन कार्यहरू समाजसमक्ष प्रस्तुत गर्ने अवसर सिर्जना गर्नुरहेको बताउनुभयो ।

विभिन्न इन्जिनियरिङ तथा वास्तुकला विषयका विद्यार्थीहरूको सहभागितामा सम्पन्न भइरहेको ‘आरोहण २.० राष्ट्रिय प्रदर्शनी’ ले ज्ञान आदानप्रदान, अन्तरविषयगत सहकार्य तथा व्यावसायिक अन्तरक्रियालाई प्रवद्र्धन गर्नुका साथै ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक उत्कृष्टता, नवप्रवर्तन र विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।

दुई दिनसम्म सञ्चाल नहुने उक्त प्रदर्शनी सर्वसाधारण, विद्यार्थी, प्राध्यापक, अनुसन्धानकर्ता तथा पेशागत क्षेत्रका व्यक्तिहरूका लागि खुला रहनेछ । प्रदर्शनीमार्फत आगन्तुकहरूले विद्यार्थीहरूले तयार पारेका उत्कृष्ट थेसिस, अनुसन्धान, डिजाइन तथा प्राविधिक परियोजनाहरू अवलोकन गर्न सक्नेछन् ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.