Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

 जुम्लामा नयाँ देउडा गीतको छायंकन घोडासिन गाँउमा

 

जुम्लामा

नयाँ देउडा गीतको छायंकन घोडासिन गाँउमा सकिएको छ |

नेपालको सुदुरपश्चिम जुम्लामा देउडा गीतको छायांकानको क्रम त्यहाको स्थानीय मौलिक्क्त झल्किने यस किसीमको प्रस्तुतिले नेपालको पश्चिम क्षेत्रमा भएको सास्कृतिक महत्वलाइ कलाकारले पनि उजागर गर्ने मौका मिलेको छ

देउडाको अर्थ :
देउडालाई नेपाली बृहत् शब्दकोश (२०५७) पृष्ठ ६२६ का अनुसार देउडा (ना.) पश्चिम नेपालको लोकगीत तथा चल्ने गीतको एक ताल हो । देउडा शब्दको शाब्दिक अर्थ हो टेडो, बांगो वा छड्के सामूहिकरूपमा देउडा खेल्दा पादपंतिm डेउडी पर्ने हुँदा यसलाई देउडा खेल भनिएको हो । बुढाक्षेत्री, हर्कबहादुर (२०६९), स्नातकोत्तर शोधपत्र, पृ.१ देउडा शब्दको पहिलो प्रयोग दुःखान्त नाटककार पहलमानसिंह स्वाँरले गर्नुभएको हो । उहाँले कोल घुमेजस्तै गरेर गोलाकाररूपमा खेलिने खेललाई देउडा भनिन्छ, भन्नुभएको छ । (उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता) देउडालाई देवरागको रूपमा पनि स्वीकारिन्छ । देवरागको अपभ्रंश रूप नै वर्तमानको बोलीचालीमा देउडा हो । देउडा खेल्दा पाइला देउडी हान्ने भएकाले यो खेललाई देउडा भनिएको हो । लामिछाने, मनोहर (२०६५), लोकसाहित्य र संस्कृतिका केही पाटाहरु पृ.८८.

हामी खुट्टाको चालमा देउडा खेल्छौं । त्यसरी खुट्टा चाल्ने प्रक्रियालाई पैतलो भनिन्छ । त्यो पैतलो हान्दा हामी डेड स्टेप हान्छौं । एउटा स्टेप हान्दा हाम्रो खुट्टा पूरा जान्छ, अर्को हान्दा आधा । गीत गाउँदा पनि दुईटा पंक्तिमा एउटा पंक्तिको श्लोक पहिलो चोटि पूरा जान्छ, दोस्रोपटक आधा उच्चारण हुन्छ । यसरी देउडा खेल्दा होस् गाउँदा डेडीको प्रमुखता भएकाले देउडा नाम रहन गएको भन्न सकिन्छ । उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता देउ र डा देउ भनेको देवता र डा भनेको देवताको स्तुतिबाट सुरू गरी जीवनका विविध आयामहरूको डाको छोडेर लयबद्घरूपमा गाउनु भन्ने अर्थ हुन्छ । साउद, मोहनकुमार (२०७२), स्नातकोत्तर शोधपत्र पृ.१, डेउडा शब्दको व्युत्पत्ति डेढ खुट्टाले पैतला मिलाई सामूहिकरूपमा गाइने वा खेलिने हुनाले सम्बन्धित क्षेत्रमा दर्शकहरूबाट बढी लोकप्रियता हासिल गरेको गीत देउडा गीत हो । जोशी, होमनाथ (२०७२), स्नातकोत्तर शोधपत्र पृ.१ देउडा नामले बोलाइने स्वतन्त्र गेयात्मक अभिव्यक्तिलाई देउडा भनिन्छ । पन्त, जयराज देउडा पुस्तक (२०६४), पृ.१

यसरीमाथिका भनाइलाई संश्लेषण गर्दा देउडा भनेको पश्चिम नेपालको उत्कृष्ट लोक संस्कृति हो । जुन गाउन र खेल्न मिल्छ । यो निश्चित चाडपर्वमा गाइने र यी गीतहरूमा विभिन्न देवताहरूको चरित्रगाथा समेटिएको हुनाले देउताको गाथा अथवा देवराग पनि भन्न सकिने देखिन्छ । यसैगरी पैतला चाल्दा होस् गीत गाउँदा होस् डेडीको प्रमुखता हुने भएकाले यो गीतको नाम देउडा भन्न सकिन्छ ।

देउडा गीतको परिचय;

देउडा नाचमा गाइने गीतलाई पनि दोहोरी भनिन्छ । नाचसँगै ठिटाठिटीहरूले देउडा गीत गाउँछन्, यो गीतमा बाजा बजाउने चलन छैन, देउडागीत सुदूरपश्चिमको प्रसिद्ध लोकसंस्कृति हो । रिमाल, प्रदीप (२०५३), कर्णाली लोकसंस्कृतिखण्ड ५,पृ.९ नेपाली सञ्चार माध्यममा पहिलोपटक गाउने प्रथम गायक कर्णाली प्रदेश जुम्ला जिल्लाका तत्कालीन कात्तिकस्वामी गाविस वडा नम्बर २ बोहोरा गाउँमा जन्मनु भएका महाशंकर देवकोटा हुनुहुन्छ । उहाँले २०२०-०९-०९ मा पहिलोचोटि रेडियो नेपालमा गाउनु भएको थियो । जुन गीत यस प्रकार छ ।

लाइ भोट्या खर्सुको साँगु, तर भोट्या तर्दैन
पानी तिर्खा मेटिजान्छ, लाई माया मर्दैन ।

प्रथम गायक महाशंकर देवकोटाका अनुसार देउडा गीत बिरामीको लागि औषधिजस्तै हो । दिनभरि काम गरेर थाकेको शरीर साथीसँग बसेर देउडा गीत गाएर खेल खेल्दा थकाइ पनि मेटिन्छ र विचार पनि आदानप्रदान हुन्छ । देउडा गायनको उत्पत्ति सामवेदबाट भएको हो । प्राचीनकालमा देवताले गाएर नाच्ने गर्दथे जुनकुरा गीतबाट प्रष्ट हुन्छ ।

राजा ठूला नेपालका देउ ठूला सरुका
देउता त रमाइला हुन्छन्, गाउँघरहरूका

खेल खेल्दा खुट्टा देउडा बांगा गरेर चलाउने तथा देब्रे खुट्टा अगाडि बढाउने तथा देउडीएर खेल्ने भएकाले देउडा भनिएको हो । पाण्डे गोविन्दप्रसाद (२०६०), डेउडाको विगतदेखि वर्तमानसम्म देउडा गीतमा प्राकृतिक प्रवाह र स्वतन्त्र मौलिकता छ । यिनमा भाषाको मूल स्रोत स्थानीय प्रकृति, विविध हृदयका भावअंकूर, नाना रस, अनेक अलंकार, निश्चल हृदयका स्वच्छ विचार एवम् प्रकारका सहृदयगम्य सूक्ष्म अतिक्रितिम, प्रकृति र मनोहर लोकसाहित्यको प्रवाह पाइन्छ । तीर्थयात्रा, माडुपैठ, हाडबाट, छैटी, विवाह, व्रतबन्ध एवम् अनेक आर्तवजातीय उत्सवहरू गीतका रोकी नसक्ना मूल फुट्दछन् । स्व. योगी, नरहरी नाथको इतिहास प्रकाशमा व्यक्त विचार पृ.६

विश्वविजेता सूर्यवंशी शक (खस) जातिकी कूल देवी बडिमालिका मलयगिरी पर्वततिर गमन गर्नु अघि उहाँ देउरा वा देउराली भनिने आफ्नो जन्मथलोमा बस्नुहुन्थ्यो र उहाँको जन्मदिवसमा भक्तजनहरूले उहाँको सम्मानमा एउटा सामूहिक नृत्य लोकगीतका रूपमा प्रस्तुत गर्दथे र त्यो गायन र नृत्य देउरा वा देउरालीमा हुने भएकाले त्यसलाई देउडा भनिन्थ्यो । देवकोटा, रत्नाकर (२०६०), भूमिका लेखन, पाण्डे गोविन्दप्रसाद, देउडा विगतदेखि वर्तमानसम्म हामी यसलाई न्याउल्या गीत भन्छौं । न्याउल्या संस्कृतिको सुरुवात न्याउली चरीको सुमधुर स्वरबाट भएको हो । डोटेली इतिहास अध्ययन गर्दा न्याउल्या संस्कृति, न्याउली चरीको गीतजस्तै सुमधुर भएकाले सोहीअनुसार नामाकरण गरेको पाइन्छ । देउडा त पछि आएको हो । २०१५/१६ साल फागुनतिर जनकविकेशरी धर्मराज थापा पश्चिम भ्रमणमा गएर त्यहाँको गीतसंगीतको अवलोकन गर्नुभयो । सोही समयमा होरी खेलेको देख्नुभयो । त्यो खेललाई होरीका देउडा भनिन्छ । उहाँ काठमाडौं फर्केपछि गोलाकाररूपमा खेलिने सबै देउडा हुन् सोच्नुभयो सायद । उहाँ त्यसबेला रेडियो नेपालमा लोकमञ्जरी कार्यक्रम चलाउनुहुन्थ्यो । उहाँले त्यहाँ रेकर्ड गरेको कार्यक्रम जब देउडाभन्दै रेडियो नेपालबाट प्रसारण हुँदा जनमानसमा पश्चिममा खेलिने खेल सब देउडा रहेछ भन्ने पर्न गयो । जुन कुरा उहाँले व्यक्तिगत धारणाको आधारमा भन्नुभएको थियो ।

कसैलाई थाहा नभएको कुरा एक्कासी रेडियो नेपालबाट देउडा भनेर बजाएपछि सुदूरपश्चिमका सबै कुरा देउडा भए । यसरी सञ्चारमाध्यमबाट देउडा प्रसारण भएपछि यही शब्दले प्रसिद्धि कमायो र जनजीब्रोमा झुण्डियो । यसको मौलिक नाम न्याउल्या नै हो । उपाध्याय, यज्ञराज (२०७५), यज्ञराज जोशीले लिनुभएको नेपाल समय अनलाइन अन्तर्वार्ता । सुदूरपश्चिमका ९ जिल्ला तथा कर्णालीका पूरै जिल्ला र पहाडी जिल्लाहरूमा प्रचलित लोकसंस्कृतिको उत्कृष्ट नमूना हो, देउडा गीत । लामिछाने, मनोहर (२०६५), लोकसाहित्य र सांस्कृतिको केही पाटाहरू पृ.८० कसैलाई रैबार लाउँदा मायामोह साटासाट गर्दा खुसी हुँदा पीडा अभिव्यक्त गर्दा पनि देउडा एक अब्बल माध्यमको रूपमा स्थापित भएको छ । इतिहासलाई अध्ययन गर्दा, अग्रजहरूसँग साक्षात्कार गर्दा, लेकमा सामल पठाउँदा, प्रदेशबाट रैबार पठाउँदा, प्रेमी र प्रेमीका बीच संवाद गर्दा शुभविवाह वा बालक जन्मिँदा होस् देउडाको सहारा लिने प्रचलन आफैँ कायमै छ । धमला, कृष्णराज (२०७३), भूमिका लेखन, बिष्ट रत्नकमल, पौला झल्का, देउडा गजलसंग्रह पृ४ कर्णालीमा प्रचलित देउडा नृत्य र गीत कविला समाजको उत्पादन हो । यो गीत तथा नृत्यमा कुनै जातीय लिंगीय, विभेद छैन । देउडा गीतमा सामन्ती सामाजिक उत्पादनदेखि पूँजीवादी प्रभाव र क्रान्तिकारी विद्रोहको संवेग पनि पाइन्छ । कुँवर, राजबहादुर (२०६९), कर्णाली वर्गसंघर्षको आँखीझ्यालबाट पृ.१०५ पश्चिम नेपालका मागल, भस्मो, धमारी, छलिया, चाचरीहरू पनि छन् तर देउडा जति लोकप्रिय अरु छैनन् । देउडामा श्रृंगार रस छ । देशप्रेमको भाव छ । गरिबीको कथा छ । दरिद्रको व्यथा छ । समाजमा कथित माथिल्लो वर्गले गरिबमाथि गरेका अत्याचारका व्यथा छन् । देउडा गीत गाएको खण्डमा गीत हो, लेखेको खण्डमा साहित्य बन्छ । भावमूलक तरिकाले हामीले चिन्तन मनन गरे दर्शन हो । देउडा अलिखित महाकाव्य हो । जोशी, नन्दकृष्ण (वरिष्ठ देउडा गायक)

यसरीमाथिका भनाइहरूलाई आधारमान्दा लोकगीतका अन्य आयामभन्दा लोकप्रिय बन्दै आएको देउडा सुदूरपश्चिम तथा कर्णाली प्रदेशको उत्कृष्ट लोकसंस्कृति हो । युवा र युवती, महिला र पुरुष, महिला–महिलाबीच, पुरुष–पुरुषबीच विभिन्न चाडपर्वमा गाइने वा खेलिने संस्कार हो देउडा गीत । देउडाको अघिल्लो पंक्तिले कला पक्षको महŒव राख्दछ भने पछिल्लो पंक्तिले ओजपूर्ण भाव पक्षलाई समेट्छ । देउडा अथवा न्याउल्या गीतले जसरी वनमा न्याउली चरीले विरह तथा वेदनाहरूलाई सुरिलो स्वरले रनवनमा संगीतमय बनाएजस्तै मानव जीवनमा पनि देउडाले आनन्दमय बनाएको छ । देउडा मनका भावहरू व्यक्त गर्ने सशक्त माध्यममात्र नभै सामूहिक पहिचानको माध्यम पनि भएको छ । देउडाले सूचनाको साथसाथै मिलन, विछोड कुरीती, कुसंस्कार, अन्याय अत्याचार उत्पीडनका विभिन्नरूपको जरो उखेल्ने कामदेखि लिएर जनताको राजनीतिक चेतनाको विकास गर्ने काममा उल्लेख्य भूमिका निर्वाह गरेको पाइन्छ । अतः देउडामा प्रेमको दृष्टिले मार्मिक, ऐतिहासिक दृष्टिले तथ्यपूर्ण, भौगोलिक दृष्टिले अत्यावश्यक, सांस्कृतिक दृष्टिले सारपूर्ण एवम् भाषा र साहित्यका दृष्टिले गाह्य र उच्च कोटीका छन् कर्णालीमा गाइने देउडा गीतहरू । कर्णालीमा गाइने गीतहरूलाई निम्नबमोजिम वर्गीकरण गर्न सकिन्छ ।

१. शासन प्रणाली, थिचोमिचो र अन्याय अत्याचारसम्बन्धी अभिव्यक्ति

पहिलेका शोभान शाही थिए अहिलेका नेपाल
सितो तिर्नु मानो भर्नु ठूलो छ कपाल
बिर्कुल्या पल्टन आयो मानोभरि राख
भारी बोक्न्या ओ गाउल्याउ पालो सुनी राख
गोर्खालीका सिसाकलम लेख्दा अड्डा बसी
घुस खाँदा अज्ञानता लेख्दा आँखा लाउँदा खसी
रोकाया, लालगिरी र ऐडी, गंगबीर (२०७०, भेटवार्ता), खार्पूनाथ ७, दुर्पा हुम्ला

यीमाथिका गीतहरूको संयुक्त भावार्थ पहिले जुम्लाका शासक शोभान शाहीले कर उठाउँथे, अहिले काठमाडौंको सरकारले कर उठाउँछ, शासक फेरिए पनि हाम्रो क्रृण घटेन । बिर्कुल्याको नामले चिनिने राणाहरूले बिगुल बजाएर आफ्नो उपस्थितिको जनाउ दिन्थे र गाउँका मुखिया, नायकहरू जम्मा भएर मीठो मसिनु परिकारका साथ सुरा, सुन्दरी अनि भारी बोक्ने भरियाहरूको चाँजोपाँजो मिलाउँथे । २००७ सालमा दिल्लीमा गरिएको धोकापूर्ण सम्झौता गरी आउने राणा, कांग्रेस र त्रिभुवनले श्री ५ को जय भन्न सिकाए, शासक फेरिए उत्पीडनले झनै चर्को रूप लिँदै गयो । बहुदलीय व्यवस्था पछि त झन् गोर्खाली शासकहरू अड्डामा बसेर घुस खाने र जनतालाई दुःख दिने काम गरे भन्ने भाव पाइन्छ ।

नेपाली जनताको भाग्य र भविष्यमा सदिऔंदेखि रजाइँ गर्दै आएको सामन्ती राजतन्त्र र त्यसको छत्रछायाँमा हुर्केका कयाँरहरूको समूल नष्ट नगरी सम्पूर्ण नेपाली जनताको मुक्ति असम्भव हुने कुरा देउडामार्फत् अभिव्यक्त गरेका छन्, जनवादी देउडा गायिका सुनिता परियार र गायक मदन परियारले ।

सत्ताका सदियौं, कुरा समीक्षा भैगयो
लौ बोक मसालको राँको, उठ्ने दिन आइगयो
उडी आउँदा हेलिकोप्टर, बोकी ल्याउँदा गोली
बगेबगोस् नो फिगिरी रगतको खोली
सेती भेरी गर्दा गर्दै, उठिगो कर्णाली
हुँदैन जनताको मुक्ति राजतन्त्र नफाली
परियार, सुनिता र परियार, मदन (२०७१, भेटवार्ता) श्रीनगर ५, हुम्ला

सत्ताका सदियौं कुरा समीक्षा भएको, त्यसकारण मसाल समातेर उठ्ने दिन आएको, उडेर आउने हेलिकोप्टरले जनताको आधारभूत आवश्यकता नभई जनता मार्ने गोली बोकेर ल्याउने गर्दाको क्षणलाई सम्झदै रगतको खोलो बगाउनु परे पनि कुनै फिक्री नभएको कुरा देउडा गीतको माध्यमबाट विद्रोहको भावना एक आपसमा साटिरहेको पाइन्थ्यो । चौकीमा आगोबाल्दा दंगाको भागाभाग भएको र हुम्लाको पहिलो सहिद बक्त बुढा ढल्दा माओवादी झनै बढेको, बक्त बुढाको रगतले कर्णाली लालकिल्ला बनेको घटनाको वर्णन देउडा गीतको माध्यमबाट भएको पाइन्छ ।

इतिहास झुकेको छैन, कर्णाली झुक्दैन
आइपरे संघर्ष गर्छ, पछाडि लुक्दैन
गाडी छैनन् रोड आउँदैनन् बजेट पाउँदैनन्
कर्णालीको बेदनालाई कसैले राउँदैनन्
हुम्ला, जुम्ला, मुगु डोल्पा कालीकोट कोटै छ
अझै पनि उपेक्षित, जनतालाई चोटै छ

शाही, बम बहादुर (२०६५), साभार जनवादी देडडा संग्रह

इतिहासमा कर्णाली कहिल्यै नझुकेको, फेरि पनि नझुक्ने आइपरे बरु पुनः संघर्ष गर्ने कदापि नलुक्ने, कर्णालीमा बजेट छैन, बाटो छैन, गाडी हिँड्दैनन्, कर्णालीको व्यथा कसैले चिन्दैनन्, स्याउ, सुन्तला र कस्तुरी पाउने कर्णालीमा विकास छैन, अधिकार माग्दा सरकार झन् संकटकाल लगाउँछ, विगतमा तिब्बतमा कर्णालीका जनताले व्यापार गरी ल्याएको पैसामा ठाठूहरूले कर उठाउने गरेको प्रसंग देउडा गीतको माध्यमबाट जनवादी देउडा गायक तथा लेखक बमबहादुर शाही (क.युनियन) ले आफ्नो जनवादी देडडा संग्रह (२०६५) मा उल्लेख गरेका छन् ।

उहिती छन् भ¥याली तिजु, उही ति काफल काला
डिब्या कोसी रन्या छैनन्, यही सत्तुर पाला
जइ गोठ जौमती छुइ छ उसै गोठ धनी
कोही हप्काउना कोही दप्काउना, झाडी खाउँला भनी
जौवन गयो पुरुष गयो सबैले हेप्ताछन्
भोका नांगा देख्यापछि सबैले चेप्ताछन्

यीमाथिका गीतहरूमा समाजमा व्याप्त अन्याय र अत्याचार व्याप्त छ । गाउँमा सानातिना घटना घट्ने बित्तिकै सरकारी स्वाँठहरूसँग मिलेर गाउँमा रहेका सत्रूहरूले अचाक्ली दुःख दिएर डिब्या (तरकारी पकाउन्या भाँडो) र कोसी (फापरको रोटी पकाउन्या) समेत लिने, श्रीमती छुइ (नछुने अवस्था) मा पनि गोठमा बसेको बेलासमेत दुःख दिने, दैनिकजसो हप्काउने, यस्तै पीडा खेप्दाखेप्दै जोवन गएको, बाठाहरू यस्तो समस्या खेप्न नसकेर अन्य ठाउँमा गएका र हामी लाटाहरू यतै अल्मलिनु परेको बाध्यता देउडा गीतमा समेटिएको छ । न्याय निसाफको लागि अड्डा अदालत धाउनेहरूको बिजोगपूर्ण हविगतलाई पनि देउडा समेटेको छ । त्यहाँभित्र पाइने चाकडी, चाप्लुसी, भ्रष्टाचार र बेइमानीको चित्रण गर्दै यसरी देउडामा

लछुका घरभरि सुन छ, मै ती पितल नाई
अदालतका पल्तीरौना हुनी सित्तलै नाई
हाकिम भया चोरीचारी झगडिया मान्र्या
न्या छैन निसाफै छैन को हान्र्या को जित्न्या
हात्तीले माझर्काइ ल्यायो लालझडीका केला
सुखीको निसाफ हुन्छ दुखी हुन्छन् हेला

यहाँ अदालती (सीतल) प्रति व्यंग्य गर्दै हाकिमी प्रवृतिको विरोध गरिएको छ । यिनमा झै–झगडाका फन्दामा फसिरहेका झगडीयाहरूले हुनी सित्तलै नाइअर्थात् हुनसम्म सीतल छ नि भन्दै ओठ लेब्य्राएका छन् र सम्पन्नका पक्षमा भएका न्याय निसाफ दिइरहेका छन् विपन्नहरू दोषको आरोप खेप्न विवश छन् ।

२. दुःख, पीडा, बिरह र निराशाका अभिव्यक्तिहरू

यता बग्ने करनाली उता बग्ने भेरी
मन रुन्छ अचाक्ली हुन्छ सम्झी ल्याउँदा खेरि ।
गाई ग्वालाले घाँस काट्यो सिरुपात्या आँसी
सोच्या काम सफल छैन जन्म पाइको फाँसी
उँदै–उँदै धँधालकोट उही उँदाको धैन
जैले मु डोकामा छियाँ उहिले मरि गैन
जग्गा क्यान बाँझो राखेउ कोद्या बोइहाल्नु हो
मनले सोच्या केही पुग्दैन गर्भै तुहिजानु हो
डडुल्दै आया काग गरुल उड्दै आया चिल
भागिनी भाग बाँड्ने बेला काँ प¥या छुँ डिल

यी गीतहरूको भावार्थ ती शासकहरूका चरम शोषणका कारण जीवनदेखि वाक्क दिक्क मान्दै, मनले सोचेको कुरा कहिल्यै पूरा नहुने बरु जीवन दिन प्रतिदिन गल्दै जाने, जन्मनु नै बेकार भएको, जन्मदै मर्नुपर्ने, गर्भै तुहिनुपर्ने, चौबीसै घण्टा रोएर जीवन बिताउनुभन्दा आफू मरेको दिन सबैभन्दा हलुंगो हुने जुन मार्मिकता पाइन्छ त्यो मानव जातिको लागि सबैभन्दा ठूलो पीडा हो ।

लेखाजोखा केही छैन, पसिना सीपको
गरिबीको आलो घाउ, कहिले होला निको
धनीका बालबच्चाहरू, हाँस्दै खेल्दै पढ्छन्
गरिबका बच्चाहरू, पढ्न नपाई सड्छन्
गाउँ छोड्यो घर पनि छोड्यो, मातृभूमि छोड्यो
आफ्नै देश बनाउने कसम, बाध्यताले तोड्यो
पासमा पाँच पैसा छैन, भान्सा छैन नुन
चुलाका खरानीसमेत, साहुका लाग्दा ऋण

शाही, बमबहादुर (२०६५), साभार जनवादी देडडा संग्रह

गरिबको पसिना र सीपको लेखाजोखा कसैले नगरेको, धनीका बालबच्चाहरू स्कुलमा रमाउँदै पढेका, गरिबका बच्चाहरू पढ्न नपाएर सडेका, चुलाको खरानीसमेत साहुको ऋण तिर्न गाउँघर छोडेको, देश बनाउने कसम गरिबीको बाध्यताले तोड्नु परेको साह्रै मार्मिक पक्षलाई गीतकार बमबहादुर शाहीले आफ्नो पुस्तकमा समेटेका छन् । खल्तीमा पाँच पैसा र भान्सामा नुनसमेत नभएको अवस्थामा साहु घरमा इज्जत लुट्ने धाक दिँदै, खुकुरी चम्काएर धम्क्याउने प्रसंगले कर्णालीका जनताहरू साहुबाट कति प्रताडित भएका रहेछन् भन्ने प्रष्ट हुन्छ । जनताहरूको मनका बिरह, विद्रोह र वीरताको भावना ओकल्ने माध्यम देउडा गीत हिजो बनेको थियो, आज पनि जीवन्त छ र भोलि पनि हुनेछ।

घोडी भेडी पाइत सा¥या, ताउलाखार नुनेइको
घर निस्याइलै वन, निस्याइलै पीमा नहुनेको
दैलेख दही लाडु खाने, दुल्लुका स्याल हुन् कि
यो बैंस विपत्ती पाउनु, कर्मैका ख्याल हुने कि
गाई क्या मरी कठै बरी, माजैका दाउलीको
घटी कर्म मेरै रैछ, पछिल्ला छाउलीको

माथिको गीतको भावार्थ माया प्रिती नहुनेको घर पनि निरस हुने र घरबाहिर पनि नरमाइलो हुने । भर्खर युवा अवस्थामा नै विपत्ति सहनु पर्ने, आफ्नो छावल (पुस्ता) कै अत्यन्त अभागी आफू भएको आफैँलाई धिक्र्कान मन लाग्ने, अत्यन्त बैराग चल्नाले कुनै पनि काम गर्न उत्साह नआउने भाव यी गीतहरूले समेटेको पाइन्छ । बिरक्तिरिएको मनलाई बुझाउने अवतारी व्यक्ति यो संसारमा को होला भनेर साह्रै मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।

माइत मेरी जिया छैनन् घर सौता गाँठो
कुनै दिशा छैन मन, मन बुझाउन्या बाटो
वनभरि बिलौना गर्छु गाईबाख्रा खुइकन
राति काट्छु तारा गनी, दिन काट्छु रुइकन
डाँडामाथि ल¥या पीपल, खोलिउनोको पैयूँ
कि दुखारी न्याउली चरो, कि दुखारी मै हुँ
एकै दानो जामि¥याको तीन बिसौली चुक
जन्मेदेही दुखै छन् मन, कहिले होला सुख

माइतमा आमा छैनन्, घरमा सौता छिन् यो उदेक लागेको मनलाई बुझाउने बाटो कतै भेटिँदैन । रातैभरि तारा गनेर रात काट्छु भने दिन रोएरै काटेको वर्ष बितिसक्यो । जंगलमा बिरहको गीत गाउने न्याउली चरीसँग आफूलाई तुलना गर्दै कि दुखारी न्याउली चरी कि दुखारी आफू भएको बेदना यी गीतका पंक्तिले समेटेको छ । जन्मेदेखि कहिल्यै सुख छैन, दिन काट्न पनि महिना जत्तिकै लाग्छ कसरी बाँकी जीवन काट्ने होला भनेर अत्यन्त भावुक एवम् निराशाका अभिव्यक्तिहरू यी गीतमा भेटिन्छन् ।

विभिन्न प्रकारका उत्पीडनले सताइएका तर मुक्तिको बाटो खोजिरहेका कर्णालीका गाउँबस्ती, घर आँगन, चोक, चौतारी मेलापातहरूमा जनताका रगत, पसिना र आँसुसँग मिसिएका जनवादी देउडाहरू यसरी घन्किन थाले…

३. माया, प्रीति र मिलनसम्बन्धी अभिव्यक्तिहरू

पसल्याले बेचाऊ ल्यायो दुईपाते जन्तर
मेरो माया राखिदिया, कलेजी अन्तर
ल्याऊ भाउजु तोरीका तेल कोर नन्दा केश
फूल वन बासना सुघ्छु, भमराका भेष
सूर्य छन्दा झिलिमिली, सूर्य डुब्दा रात
बाँचुञ्जेल मुटुमा राख्छु, लाग मालुवा साथ
कामबाट विषयबाट, सुपारी घागस
दै हुनु सुनका पैसा, म हुँला बाकस

केटीले केटालाई मेरो माया मुटु र कलेजोको बीचमा राखेपछि दुईपाते जन्तरले छोप्दा बल्ल सुरक्षित हुने, तिमी फूल बनेर फुल्नु, म भमरा बनेर बास्ना सुघ्न आउँछु, मसँगै लागेपछि बाँचुन्जेल मुटुमा राख्छु, तिमी सुनको पैसा हुनु म बाकस हुन्छु भनेर एकले अर्कालाई फकाएर मन जित्ने परम्परा साह्रै लोकप्रिय छ कर्णालीमा । यसरी देउडा माया प्रिति लगाउने सशक्त माध्यम बनेको छ । यही देउडा गीत गाएर नै सयौं जोडीले लगन गाँठो बाँधेका प्रशस्त उदाहरण भेटिन्छ कर्णालीमा ।

४. भगवान्सम्बन्धी अभिव्यक्ति

तल काट्यो मालुपात, टुपा गई बेरियो
कि लेख्न्या भाविनी भुल्यौं कि कलम फेरियो
जैगडा बस्याको भोट्या पानी काँ खाँदो हो
हाड मांस मट्टीका भाग हंस काँ जाँदो हो

यहाँ भावीनीले भाग्य लेख्न भुल्नु, उनको लेख्ने कलम फेरिनु, सुदिनमा जन्म नहुनु, मान्छेको मृत्युपछि हंश कता जान्छ होला, रहस्यात्मक कुरा एवम् परजुनीका सुनौला सपना पनि यी गीतका पंक्तिमा देखा परेका छन् । मान्छेलाई भाग्यवाद, रुढीवाद र रहस्यवादको पोल्टामा पु¥याउने सामन्ती सत्ताको पृष्ठपोषण गर्ने सन्दर्भमा यी गीतलले सघाएको छ । यस्तै गलत चिन्तनमा अल्मलिनु परेकोले नै मान्छेले आफ्नो रगत पसिना चुस्ने चुसाहालाई चिन्न नसकी अनेक ठक्कर, हण्डर र सास्ती पाइरहेको सन्दर्भ पनि यी गीतमा देखिन्छ ।

५. प्राकृतिक सम्पदा नदी, पहाड तथा कर्णालीसँग सम्बन्धित अभिव्यक्तिहरू

माघ मास धर्मी महिना फागुन पल्लमय
चैत महिना बीउ बेर्ना, वैशाखका ठाडा धुप
जेठका दाब्दुब्या हिला, असार हिल्या जाँग्रा
साउनको सितल्या झरी, भदुअ लटपटे कामु
असोज अमन लाग्यादिन, कात्तिक धान ढल्या भाइ हो
मंसिर सुकिला डल्ला, पुषमा होला भेट

यो गीत अलि फरक प्रकारको गीत हो जुन गीतमा प्रश्न छोटो छ तर उत्तर लामो छ । यो गीतको उत्तरमा कर्णालीमा माया प्रिती लाउने उत्कट अभिलाशा भए पनि हरेक महिना हुने विभिन्न कामको चटारोमा माया लाउनेहरूले पुस महिना कुर्नैपर्छ भन्ने सन्दर्भ यसरी आउँछ । माघ महिना धर्मी महिना हो, फागुन महिना हरियाली अथवा बिरुवाहरूको पल्लम पलाउने बेला हो, चैत्रमा बीउबेर्ना राख्ने बेला, वैशाखमा ठाडो धुप, जेठमा हिलो हुन्छ, असारमा पनि हिलै हुन्छ, साउनमा झरी पर्छ, भदौमा लटपटे काम हुन्छ, असोजमा अमन लाग्ने दिन, कात्तिकमा धान संगाल्ने समय, मंसिरमा हिउँपर्छ बल्ल पुसमा भेट गरौला भनेर गीतमार्फत् दिएको उत्तरमा कर्णालीमा हुने कामको वर्णनसमेत स्पष्ट गरेको पाइन्छ ।
राजतन्त्र र संविधानसभासम्बन्धी गणतान्त्रिक देउडा गीत

घर गाउँ बस्ती हुँदै, सहर पस्नुपर्छ
राजतन्त्र अन्त गर्न, मोर्चा कस्नुपर्छ
जुरुक्क जागेर अब, आफ्नै भाग्य कोरौं
सिंहदरबार, नारायणहिटी, घेर्नै परे घेरौं
संविधानसभाको चुनाउ, कहिले हुन्या होला
गणतन्त्र आया पछि, फेरिन्थ्यो कि चोला
जनतालाई धोका दिन्या अब नेता छाडौं
वर्गीय हितको लागि व्यक्ति स्वार्थ त्यागौं

जनवादी देउडा

नेपालमा संघीय गणतन्त्र कार्यान्वयन भइरहेको सन्दर्भमा कर्णालीमा गाइने गरेका देउडा गीतको भावार्थ जनतालाई दमन गर्ने राजतन्त्र फाल्नको लागि घर, गाउँ र बस्ती हुँदै सहरी मोर्चा कसेर भए पनि संविधानसभाको चुनाव गर्नु पर्ने, जसको लागि जनताहरू जागेर सिंहदरबार तथा नारायणहिटी घेर्न पनि पछि नपरौं भन्ने कुरा गीतको माध्यमबाट घन्किएको भावनाको कति सम्बोधन भयो यो समीक्षाको विषय बन्ला या नबन्ला यो सोचनीय पक्ष हो । संविधानसभाको चुनावपछि गणतन्त्र आएर चोला फेरिन्थ्यो कि भन्ने ती कर्णालीवासीको चोला कति फेरिएको छ यो जरुर समीक्षाको विषय बन्नुपर्छ । यद्यपि एकातिर वौद्धिक विकास र मनोरञ्जन अर्कोतिर सांस्कृतिक सामाजिक परम्परालाई जर्गेना गर्नेे देउडाले लोकसंस्कृतिक महत्वलाई उच्च बनाएकै छ । आगामी दिनमा हुने समाज रुपान्तरणका हरेक विषयमा देउडा गीतले पक्कै नयाँ आयाम थप्नेमा कुनै शंका छैन । एकातिर वौद्धिक विकास र मनोरञ्जन अर्कोतिर सांस्कृतिक सामाजिक परम्परालाई जर्गेना गर्ने भएकाले देउडाले लोकसंस्कृतिक महत्वलाई उच्च बनाएको छ । यी विविध कोणबाट अध्ययन गर्दा कर्णालीमा लोकसंस्कृतिको उत्कृष्ट नमूनाको रूपमा देउडा गीतलाई लिन सकिन्छ ।

नेपालको कतिपय जिल्लामा आ-आफ्नै मौलिक सास्कृतिक छन् |

बिशेष गरि देउडा गीत संगीत पश्चिम जिल्लाहरुमा निकै महत्वको साथ जुन सुकै कार्यक्रमहरुमा प्रस्तुत गरेर आफ्नो मौलिक सास्कृतिक अरु जिल्लाको समुदायलाई पनि नियाल्ने अवसर हुन्छा

हाम्रो देश सानो देश भएपनि सास्कृतिक रुपमा भने धेरै नै फरकपन बोकेको र सास्कृतिको  धनि भएको छायांकनमा संग्लन कलाकारहरुको बुझाई छ |

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.