kathmanduonlinemedia.com

सिजः फल्चा शिलान्यास

भक्तपुर

२०८१ चैत्र १४, बिहीबार

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपा वडा नं. १० सुकुनाफाँटस्थित सिजः फल्चा (पाटी) को आज शिलान्यास गर्नुभयो ।फल्चा शिलान्यास गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका ठाउँहरुको प्राचिन नामहरुको संरक्षण गर्नु हाम्रो दायित्व भएको बताउँदै भक्तपुरको पहिचान जोगाउन यहाँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, सत्तल , पाटी आदिको प्राचिन नामको संरक्षण हुनु जरुरी रहेको बताउनुभयो ।

नगरका हरेक पाटी सँगै पानीको स्रोत रहने गरेको उल्लेख गर्दै उहाँले सम्पदा संरक्षणको महत्वपूर्ण पक्षको रुपमा नगरपालिकाले नगरभरिका फल्चा पुनःनिर्माणलाई अगाडि बढाउँदै आएको हो भन्नुभयो ।

प्रमुख प्रजापतिले सम्पदा संरक्षणलाई भक्तपुर नपाले सामाजिक सम्पत्तिको रुपमा ग्रहण गर्दै महत्वका साथ जिर्णोद्धार र पुनःनिर्माण गर्दै आएको बताउँदै भक्तपुरका मूर्त र अमूर्त सम्पदा संरक्षणकै कारण भक्तपुर आज संसारकै उत्कृष्ट गन्तव्यस्थलको रुपमा विकास भएको बताउनुभयो ।

हाम्रो ठाउँको विकास हामी आफैले गर्ने हो, अरुले विकास गरिदिन्छ भन्ने परनिर्भर सोचबाट हामी मुक्त हुनुपर्ने बताउँदै उहाँले फल्चा पुनःनिर्माण गुणस्तरीय ढंगले निर्धारित समयमै सम्पन्न गर्र्नेतर्फ जोड दिन आग्रह गर्नुभयो ।

भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले वडा नं. १० मा ५४ वटा पाटी रहेको बताउँदै सिज फल्चा पाटी पुनःनिर्माणसँगै छालिङबासी र यहाँका किसानहरु बढी लाभान्वित हुने बताउनुभयो । उहाँले वडामा अवस्थित पोखरीलाई पुनः जीवन दिने काम वडाले गर्दै आइरहेको बताउँदै फल्चा पुनःनिर्माणको काम निर्धारित समयमै सम्पन्न गर्न उपभोक्ता समितिलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व वडाध्यक्ष चन्द्रबहादुर उलकले भक्तपुर नपाले प्राथमिकताका साथ भक्तपुरका सबै सम्पदाहरुको पुनःनिर्माण र जीर्णोद्धार कार्य गर्नु प्रशंसनीय भएको बताउनुभयो ।

समाजसेवी न्हुछेभक्त फोँजुले नगरपालिकाको गतिविधिहरुको आय र व्यय पारदर्शी बनाउन अनुरोध गर्दै सुकुनाफाँटमा नयाँ बस्तीहरु वृद्धि हुने क्रममा रहेको हुँदा यहाँको ऐतिहासिक र पुराना ठाउँहरुको नाम नामांकरण गर्नुपर्ने बताउनुभयो ।

सम्पदा शाखा प्रमुख ई. रामगोविन्द श्रेष्ठले फल्चाको ऐतिहासिक पक्षमाथि प्रष्ट पार्दै फल्चा पुनःनिर्माणमा स्थानीय जनताबाट आर्थिक सहयोग र जनश्रमदानको अपेक्षा रहेको बताउनुभयो । फल्चा पुनःनिर्माणपश्चात यहाँका स्थानीयले यसको संरक्षण संवद्र्धनमा विशेष जोड दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा फल्चा पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष ज्ञानकुमार मगजु, भनपा वडा नं. १० का वडा सदस्य जितेन्द्र मुनंकर्मी र कृष्णनारायण दुमरुले पनि बोल्नुभएको थियो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.