अध्यक्ष बिजुक्छेँद्वारा भक्तपुर नपाका अवकाश प्राप्त कर्मचारीहरुलाई कदरपत्र प्रदान

भक्तपुर । २०८१ माघ २५
नेपाल नगरपालिका कर्मचारी एशोसियसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज समसामयिक राजनैतिक विषयमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
सोही क्रममा कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकामा लामो समयसम्म सेवा गरी २०८१ माघ २५ गतेभित्र अनिवार्य अवकाश प्राप्त कर्मचारीहरु र ३० (तीस) वर्षभन्दा बढी भक्तपुर नगरपालिकामा कार्यरत कर्मचारीहरुलाई सेवाको कदर गर्दै प्रशंसा पत्र वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेँले कर्मचारीहरुले सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने, सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता अपनाई निष्पक्ष रुपमा गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताउनुभयो ।
कर्मचारीहरुको अवकाश एउटा स्वाभाविक प्रक्रिया भएको बताउँदै उहाँले अवकाश प्राप्त कर्मचारी पनि राष्ट्रका अमूल्य सम्पत्ति हुन् भन्ने भनाइलाई सार्थकता दिन अवकाशप्राप्त कर्मचारीहरुको ज्ञान, सीप र अनुभव उपयोग गर्ने खालको योजना सरकारले ल्याउनुपर्ने बताउनुभयो ।
भक्तपुर नपाको ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य ढिलोचाँडो मूर्त रुप लिने विश्वास व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालय सञ्चालन नेपालको शैक्षिक क्षेत्रको विकासमा एउटा नवीनत्तम अभ्यासको रुपमा रहने बताउनुभयो ।
भक्तपुरले जस्तै देशभरिका स्थानीय तहहरुले शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा विकास गरेको देश धेरै अगाडि बढ्ने बताउँदै उहाँले देश विकासको लागि कर्मचारीहरुले संवेदनशील ढंगले काम गर्नुपर्छ भन्नुभयो ।
देशको सार्वभौमिकता रक्षामा कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले हरेक देशभक्त नागरिकले विदेशी हस्तक्षेपको विरोध गर्नुपर्छ भन्नुभयो ।
संकटबाट भाग्ने होइन, डटेर सामना गर्ने सामथ्य राजनैतिक कार्यकर्ताहरुमा हुनुपर्ने बताउँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्तालाई देशभक्तिको भावनाबाट सँधै प्रेरित गरिरहनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सङ्घ, प्रदेश र स्थानीय तह कसैको अधिनमा बस्न नपर्ने स्वतन्त्र सरकारहरू भएको बताउनुभयो ।
स्थानीय तहका लागि प्रदेशले कर्मचारी नियुक्त गर्ने, स्थानीय तहले तलब खुवाएका शिक्षकहरूलाई सङ्घको नियन्त्रणमा राख्न खोज्नु सङ्घीयताको मूल्य र मान्यता विपरीत कार्य भएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाका जनप्रतिनिधि र कर्मचारीहरुले पार्टीको नीति र निर्देशनमा काम गर्न प्रतिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।
संघ र प्रदेश सरकारहरुले स्थानीय तहलाई अहिले पनि आफ्नो मातहतको एकाइझैं व्यवहार गर्न नछाडेको बताउँदै उहा“ले स्वायत्तताको नाउ“मा स्थानीय तहमाथि संघ र प्रदेशको हस्तक्षेप नै अहिलेको मुख्य समस्या भएको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसियसन, भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले स्थानीय तहलाई अधिकार सम्पन्न बनाई जनताको सेवा गर्न दिइनुपर्ने बताउँदै कर्मचारीहरु राजनैतिक रुपमा सचेत र अध्ययनशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका सदस्य विद्या प्रजापति र रामकृष्ण प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top