कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला

 

भक्तपुर

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा कानुन अध्ययन समाजको तेस्रो राष्ट्रिय भेला बुधबार भक्तपुरमा सम्पन्न भयो ।

राष्ट्रिय भेलाको उद्घाटन मन्तव्य राख्दै अध्यक्ष बिजुक्छेँले देशमा गलत र राष्ट्रघाती नीति नियम आउनुमा दलाल बुद्धिजीवीहरू जिम्मेवार भएको उल्लेख गर्दै पुँजीवादी व्यवस्था रहेसम्म कामदार जनताले दुःख पाइरहने देश विदेशीको अधीनमा जान नदिन कानुन व्यवसायीहरूले कानुनी र वैचारिक सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो ।

आर्थिक दरिद्रताभन्दा वैचारिक र संस्कारगत दरिद्रता घातक हुने औँल्याउँदै उहाँले आर्थिक गरिबी केही वर्षको मेहनत र प्रयासले अन्त्य हुनसक्ने तर वैचारिक र संस्कारगत दरिद्रताले कहिल्यै आत्मनिर्भर र स्वाधीन बन्न नदिने स्पष्ट पार्नुभयो ।

उहाँले पहिले कानुन व्यवसायी रहेका धेरै नेताहरू पछि राज्यका उच्च तहसम्म पुगेका र व्यवहारिक रूपमा विरोधीहरूबाट समेत सम्मान पाएका उदाहरण छन् भन्दै हरेक कुरामा आलोचनात्मक दृष्टिले हेर्ने र अध्ययन अनुसन्धान गर्ने बानी विकास गर्न जरूरी छ भन्नुभयो ।

अध्यक्ष बिजुक्छेँले जनता राजनीतिकरूपमा सचेत नभएका र आफ्नो शक्ति थाहा नपाएका कारण दुःख पाइरहेको प्रस्ट पार्दै जनताको चेतनास्तर उठाउन नसकिएसम्म देशमा परिवर्तन सम्भव छैन भन्नुभयो ।

दास युगमा दास व्यवस्था कायम राख्न दासहरूबिच ज्यान लिने लडाइँ गर्न लगाएर उनीहरूबिच शत्रुता कायम राख्ने गरेजस्तै अहिले शासक वर्गले शोषित–पीडित जनताबिच जातजाति, भाषा, धर्म र लिङ्गका आधारमा विभाजन ल्याउने काम गरिरहेको उहाँले प्रस्ट पार्नुभयो ।

आजसम्मका इतिहासमा सत्यतथ्य र कामदार जनताको योगदानको खासै उल्लेख नभएकोले विश्वको इतिहासजस्तै नेपालको इतिहासको पनि पुनर्लेखन गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभयो ।

देशमा स्थानीय तहलाई स्वायत्तता र विकेन्द्रीकरणको अधिकार दिनुपर्ने माग नेमकिपाले धेरै पहिले नै गरेको बताउँदै उहाँले स्थानीय तहका सरकारलाई अधिकारसम्पन्न बनाएमा प्रदेश तहको सरकार आवश्यक नहुने उहाँले बताउनुभयो ।

अध्यक्ष बिजुक्छँेले शासक दलहरूले ख्वप विश्वविद्यालय स्थापना गर्ने विधेयक पारित नगर्नु आश्चर्यको विषय होइन भन्दै शिक्षा र स्वास्थ्य उपचारजस्ता जनताका जरूरी चिजलाई निजीकरण गर्ने, देशमा विदेशी विश्वविद्यालयका कलेज सञ्चालन गरेर नाफा कमाउने र नेपाली विद्यार्थीहरूलाई विदेश धपाउनेहरूले सरकार र स्थानीय तहअन्तर्गत कलेज र विश्वविद्यालय सञ्चालनको विरोध गर्नु नौलो कुरा नभएको बताउनुभयो ।

पुँजीवादी व्यवस्था रहेसम्म बहुमत कामदार जनताले दुःख पाइरहने स्पष्ट पार्दै उहाँले जनतालाई राजनीतिक पार्टी कुनै न कुनै वर्गको पक्षमा हुने र समाजवाद र साम्यवादी व्यवस्थाले मात्र शोषण, दमन र अन्याय अत्याचार अन्त्य हुने तथ्य बताउँदै जानुपर्छ भन्नुभयो ।

भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं कानुन अध्ययन समाजका सल्लाहकार सुनिल प्रजापतिले संविधानतः देश सङ्घीय व्यवस्थामा गइसके पनि व्यवहारमा नियन्त्रित र सीमित सङ्घीयताको अभ्यास भइरहेको बताउनुभयो । सङ्घ र प्रदेश सरकारले स्थानीय तहले नै पूरा गर्नसक्ने स–साना योजनाहरूमा बजेट राखेर स्थानीय अधिकारको जिम्मेवारी खोसिरहेका छन् भन्नुभयो ।

ख्वप विश्वविद्यालय सञ्चालनको आकाङ्क्षा भक्तपुरका जनताको मात्र नभई देशभरकै शिक्षाप्रेमीहरूको माग बनिसकेको बताउँदै उहाँले शासक दलहरू र सङ्घ सरकारले संविधानले दिएको स्थानीय तहहरूले कलेज र विश्वविद्यालय सञ्चालन गर्न पाउने शिक्षाको हक दिन अस्वीकार गरिरहेका छन् भन्नुभयो ।

देशको न्यायिक प्रक्रियाले गरिब जनतालाई न्याय दिन नसकिरहेको र न्यायाधीशहरूको नियुक्तिसमेत दलीय भागबन्डाको आधारमा गर्ने गलत परिपाटीले न्यायपालिकाको शाख घटाइरहेको उहाँले बताउनुभयो ।

कानुन अध्ययन समाज केन्द्रीय समितिका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारीले शुभकामना मन्तव्य राख्नुभयो भने समाजका शिवराज दाहाल र गम्भीरमान ज्याख्वले पनि बोल्नुभयो ।

भेलाको दोस्रो सत्रमा नेमकिपाका केन्द्रीय सदस्य तथा नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईको अध्यक्षतामा अध्यक्षमण्डल गठन गरिएको थियो ।

बन्द सत्रमा अध्यक्ष प्रजापतिले केन्द्रीय समितिको प्रतिवेदन, उपाध्यक्ष नरहरिनाथ योगीले समाजको विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्य शिवराज दाहालले नेपाल बार एसोसियसनको निर्वाचन उपयोग गर्नेसम्बन्धी प्रस्ताव र अर्का केन्द्रीय सदस्य शिवराम बोहजूले राष्ट्रिय तथा अनतर्राष्ट्रिय प्रस्तावहरूको प्रतिवेदन पेस गर्नुभएको थियो ।

बन्दसत्रले अधिवक्ता रामप्रसाद प्रजापतिकै अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत निर्वाचित ग¥यो । समितिको उपाध्यक्षद्वयमा शिवराज दाहाल र अनिता जधारी, सचिवमा गम्भीरमान ज्याख्व र कोषाध्यक्षमा राधेश्याम सुवाल रहनुभएको छ ।

निर्वाचित केन्द्रीय समितिलाई बधाईज्ञापन मन्तव्य राख्दै अध्यक्ष मण्डलका अध्यक्ष गोसाईले कानुन अध्ययन समाजका सदस्यहरूले समस्यामा परेका र निर्दोष कामदार वर्गका जनताको पक्षमा वकालत गर्दै समाज परिवर्तनको निम्ति उल्लेखनीय योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष मण्डलका सदस्यद्वय अधिवक्ता विकल प्रजापति र अधिवक्ता आशाकुमार चिकंबन्जारले पनि बधाईज्ञापन मन्तव्य राख्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top