kathmanduonlinemedia.com

भक्तपुरमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु

भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट सुरु भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले खेलकुदलाई मानव जीवनको अभिन्नको अंगको रुपमा विकास गर्न समय समयमा खेलकुद प्रतियोगिता, शारीरिक व्यायाम प्रशिक्षण र विद्यालयस्तरमा खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको बताउँदै भक्तपुर नपाका खेलाडी तुलनात्मक रुपमा अनुशासित रहेको बताउनुभयो ।

खेलकुद अनुशासन र मित्रता बढाउनको लागि खेल्नुपर्छ भन्दै उहाँले खेलकुदमा हारजित स्वाभाविक हो भन्दै हारबाट सिक्ने भावना हामीमा हुनुपर्छ भन्नुभयो ।

आफूसँग भएको क्षमता समयमा प्रदर्शन गर्न सकिएन भने अगाडि बढ्न बाधा पुग्न सक्छ भन्दै उहाँले खेलकुदमा समय व्यवस्थापनले महत्वपूर्ण भूमिका खेल्छ भन्नुभयो ।

खेलकुदसँगै आफ्नो शिक्षामा पनि उत्कृष्टता हासिल गर्न प्रेरित गर्दै उहाँले खेल जित्नको लागि र सिक्नको लागि खेल्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुदले शारीरिक र मानसिक रुपमा स्वस्थ बनाउने हुँदा हरेक नागरिक खेलकुदमा सहभागी हुनुपर्ने बताउनुभयो ।

भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले माघ २ गतेदेखि ४ गतेसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहिद स्मृति खेलमैदानमा भलिबल, लिबाली कभर्ड हलमा कबडडी, भाज्या पोखरी परिसरमा एथ्लेटिक्स, लिबाली कभर्ड हलमा तेक्वान्डो, देकोचा कभर्ड हलमा कराँते र लिबाली कभर्ड हलमा उसु खेल हुने जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापा, कार्यपालिका सदस्य सुनिता अवाल र रञ्जना त्वातीले पनि बोल्नुभएको थियो ।

प्रमुख प्रजापतिले प्रशिक्षक राधेश्याम कवांलाई खेलकुद सामाग्री हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.