kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

अध्यक्ष बिजुक्छेँद्वारा हाडा छेँ उद्घाटन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले भक्तपुर नगरपालिकाबाट पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ मङ्गलाछे स्थित हाडा छेँको मूल ढोकाको रिबन काटेर आज उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै उहाँले लामो समयदेखि जीर्ण अवस्थामा रहेको हाडा छेँ पुनःनिर्माण सम्पन्न हुनु आफैमा गौरवको विषय भएको बताउनुभयो । यस्ता संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले यस्ता मौलिक घरहरुलाई आगामी दिनहरुमा पनि म्हास्न नदिई सम्पदा संरक्षणको रुपमा प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ भन्नुभयो ।

उहाँले ‘भक्तपुरको मौलिक संस्कृति, सम्पदा र परम्परालाई जोगाउनु हाम्रो दायित्व हो’ भन्दै भक्तपुरका ऐतिहासिक संरचना, कला, संस्कृति र मौलिक वास्तुकलाकै कारण भक्तपुरका सम्पदाप्रति विदेशी पर्यटक तथा अनुसन्धानकर्ताहरुको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बताउनुभयो ।

उहाँले सम्पदाहरु केबल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन विकास र अर्थतन्त्रसँग पनि जोडिएको हुन्छ भन्दै विदेशीहरुको चासो र अनुसन्धानले भक्तपुरका संस्कृति विश्वसामु चिनाउने अवसर पनि बनेको बताउनुभयो ।

सिकर्मी र डकर्मीहरु ‘सांस्कृतिक गुरु’ हुन् भन्नु उचित हुने बताउँदै अध्यक्ष बिजुक्छेँले उहाँहरुले समाज र देश विकासमा हाम्रो सभ्यता, मौलिक कला र सांस्कृतिक धरोहरका संरक्षणकर्ता र पुस्तान्तरण गर्ने अभियन्ताको भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

भक्तपुरका पुराना घरहरु केबल बसोबासका संरचनाहरु मात्र नभई ती हाम्रो इतिहास, संस्कृति र मौलिक पहिचानका जीवित धरोहर हुन् भन्दै उहाँले यहाँका परम्परागत वास्तुकला, काष्ठकला र सांस्कृतिक स्वरुपहरुलाई जोगाउनु आजको आवश्यकता भएको बताउनभयो । नगरपालिकाले यस्ता ऐतिहासिक तथा सांस्कृतिक महत्वका घरहरुको संरक्षण, पुनःनिर्माणमा विशेष ध्यान दिनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाडा छेँ उद्घाटन कार्यक्रम गर्न पाउँदा अत्यन्त हर्षित भएको बताउँदै यो केबल भौतिक संरचना मात्र नभई भक्तपुरको सांस्कृतिक गौरव झल्काउने सम्पदा भएको बताउनुभयो । भक्तपुरको मौलिक सभ्यता र जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाहमा हाडा छेँ पुनःनिर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै हाडा छेँको पूर्वपटिमा रहेको भित्तेचित्रको पनि विशेष अर्थ रहेको बताउनुभयो । प्रमुख प्रजापतिले भक्तपुरको मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले हाडा छेँको पुनःनिर्माण भएको बताउँदै यस ठाउँलाई कसरी सदुपयोग गर्ने भन्ने विषयमा जनताको राय सुझाव अनुसार अगाडि बढ्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर आफ्नो कला, संस्कृति र सम्पदाका कारण विश्वभर परिचित नगर भएको बताउँदै उहाँले नयाँ पुस्तालाई हाम्रो इतिहास र सभ्यतालाई नजिकबाट अनुभूति गराउन यस्ता संरचनाहरुको संरक्षण अति आवश्यक भएको बताउनुभयो ।

भक्तपुरका जनप्रतिनिधिहरुले निस्वार्थ रुपमा गरिहेको जनताको सेवा गौरव गर्न लायक भएको बताउँदै भक्तपुर नपाले भक्तपुरको इतिहास जोगाउने व्यवस्थित काम गर्दै आएको बताउनुभयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले परिकल्पना गर्नुभएको ‘सय वर्षपछिको भक्तपुर’ ले साकार रुप लिँदै गइरहेको बताउँदै उहाँले सम्पदाविनाको विकास र समृद्धि अर्थहीन भएको बताउनुभयो ।

उपप्रमुख रजनी जोशीले हाडा छेँ पुनःनिर्माण कार्यलाई सम्पन्न गर्न योगदान पु¥याउने सबै जनप्रतिनिधि, प्राविधिक टोली, जनसमुदाय तथा सहयोगी सबैमा हार्दिक धन्यवादज्ञापन गर्दै यस्ता सम्पदाले भक्तपुरको सांस्कृतिक गरिमालाई अझ उँचो बनाउने काम भएको बताउनुभयो ।

हाडा छेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द दुवालले हाडा छेँ पुनःनिर्माण कार्यसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले पुनःनिर्माण कार्यलाई सम्पन्न गर्न सबैको सक्रिय सहभागिता र सहकार्य महत्वपूर्ण भएको बताउनुभयो ।

दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका पुरातत्व अधिकृत रज्जु हाडाले ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा पुरातत्व विभागले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै हाडा छेँमा रहेको भित्तेचित्रलाई जोगाउन आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन र वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले हाडा छेँ पुनःनिर्माण गर्न योगदान गरेका उपभोक्ता समितिका पदाधिकारी, सिकर्मी र डकर्मीहरुलगायतलाई कदरपत्र वितरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नगरपालिकालाई हाडा छें प्रदान गरेको योगदानको कदरस्वरुप मदनकृष्ण हाडालाई मायाको चिनो प्रदान गर्नुभयो । भक्तपुर नगरपालिकाले २०५८ सालमा मदनकृष्ण हाडासँग हाडा छेँ खरिद गरी नगरको सम्पदाको रुपमा यसको संरक्षण गर्ने उद्देश्यले हाडा छेँको पुनःनिर्माण भएको हो । हाडाछेँ पुनर्निर्माण कार्यको लागि २ करोड ३५ लाख रुपैयाँको लागत इस्टिमेट गरिएकोमा १ करोड ७१ लाख रुपैयाँ खर्च भएको उपभोक्ता समितिले कार्यक्रममा जानकारी दिए ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.