kathmanduonlinemedia.com

प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई भक्तपुरमा स्वागत

भक्तपुर नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेलाई स्वागत कार्यक्रम ग¥यो ।

नगर प्रमुख सुनिल प्रजापतिले प्रजिअ पाण्डेलाई पुष्पगुच्छा र खादाले सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले भक्तपुरको लागि अनुभवी प्रमुख जिल्ला अधिकारी पाएकोमा खुशी व्यक्त गर्दै भक्तपुर नपाले जिल्ला प्रशासन कार्यालयसँग सहकार्य र समन्वयमै नगरको विकासलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले ९९ चोकको अध्ययन अनुसन्धान कार्यलाई अगाडि बढाउने उद्देश्यले कार्य गरिरहेको बताउँदै उहाँले सांस्कृतिक नगरको मौलिकता जगेर्ना गर्ने विषयमा नपाले सचेततापूर्वक काम गर्दै आएको बताउनुभयो ।

भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणको क्षेत्रमा गरिरहेका गतिविधिबारे अवगत गराउँदै पर्यटन शुल्कबाट उठेको रकमलाई नगरको सन्तुलित विकास र नयाँ पुस्ताको सेवाको लागि खर्च गर्दै आएको बताउनुभयो ।

सोही अवसरमा प्रजिअ पाण्डेले भक्तपुर नपाले गरेको स्वागत र आतिथ्यको लागि धन्यवादज्ञापन गर्दै धेरै लामो समय स्थानीय तहमा बसी काम गरेको आफ्नो अनुभव सुनाउनुभयो ।

उहाँले स्थानीय सरकार र जिल्ला प्रशासनबीचको सहकार्यले सेवाग्राहीलाई सहज सेवा प्रवाहमा प्रदान गर्न सकिने बताउँदै जनप्रतिनिधिबीच समन्वय र सहकार्यमा काम कारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले नागरिकता वितरणलाई अनलाइन प्रणालीबाट सुरु गरेको बताउँदै उहाँले जात्रा व्यवस्थापन, विपद् जोखिम न्युनीकरण, डेंगु रोकथाम तथा नियन्त्रण, बजार नियमन र व्यवस्थापन, सार्वजनिक जग्गा संरक्षण र मलको सहज आपूर्तिको लागि सहजीकरणको लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरको हरेक कार्यमा प्रशासनसँग सहकार्य र समन्वय गरी भक्तपुरलाई नमुना जिल्ला कायम गर्न तत्पर रहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नपाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामगोविन्द श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो ।

साथै भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो उक्त कार्यक्रममा भक्तपुर नपाका कार्यपालिका सदस्य, नपाका शाखा प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

प्रजिअ पाण्डे गृहमन्त्रालयबाट भक्तपुरमा सरुवा भई आउनुभएको हो ।

 

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.