काठमाडौँ
स्वयम्भू महोत्सवले स्थानीय पहिचान र पर्यटन प्रवर्धन हुने तथा समुदाय स्तरको अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा लिइएको वडाध्यक्ष ईश्वरमान डंगोलले बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको वडा नं. १५ ले फागुन १० गतेदेखि १७ गतेसम्म आयोजना गर्ने स्वयम्भू महोत्सवका विषयमा जानकारी दिने उद्देश्यले धर्मचक्र पार्कमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा डंगोलले अपेक्षाका विषयमा जानकारी गराएको छ |
पर्यटन पूर्वाधार पूर्ण भएकोले यस क्षेत्रमा पर्यटन व्यवस्थापनका प्रशस्त सम्भावना छन् । यसले स्थानीयबासीको जीविकोपार्जन र आय आर्जनमा ठुलो योगदान गर्नेछ । वडाध्यक्ष डंगोलले भन्नुभयो, ‘महोत्सव सम्भावनाको खोजी हो । स्थानीय उत्पादनको प्रवर्धन गर्ने थलो हो ।’
महोत्सवका गतिविधिलाई व्यवस्थित गर्न कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जनको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, व्यवस्थापन उपसमिति र स्वागत उपसमिति गठन भएको छ । यी उपसमितिहरुमा क्रमश ५२ जना, ३० जना र १२० जना सदस्य हुनुहुन्छ । वडा सदस्य रीता मिजारको संयोजकत्वमा १७ सदस्यीय प्रचार प्रसार उपसमिति, अप्सरा खत्रीको संयोजकत्वमा ३५ सदस्यीय सरसफाइ तथा स्टल उपसमिति र वडा सदस्य विजु श्रेष्ठको संयोजकत्वमा २ सय सदस्यीय स्वयमसेवक तथा शान्ति सुरक्षा व्यवस्था उपसमिति गठन भएको छ ।
‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् । प्रदर्शनी र सेवाका लागि करिब ६० वटा स्टल रहनेछन् । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् । महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् ।
प्रेस विज्ञप्ति
स्थानीय पहिचान, वस्तु र सम्भावनाको प्रवर्धनका लागि स्वयम्भू महोत्सव
काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ को आयोजनामा फागुन १० गतेदेखि १७ गतेसम्म ‘स्वयम्भू महोत्सव’ सञ्चालन हुँदैछ । वडाको प्राकृतिक सुन्दरता, मानव निर्मित धार्मिक, सांस्कृतिक तथा सामाजिक संरचना, रीतिथिति र परम्परा, मठ मन्दिर, चैत्य, गुम्बा, सत्तल, विहारसहितका प्राचीन स्मारकहरुको विविधतायुक्त विशेषतालाई पहिचानका रुपमा स्थापित गर्ने र पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो । यसबाट प्राचीन तर आझेलमा परेका स्मारकहरुलाई पर्यटकीय स्थलका रुपमा प्रवर्धन हुनेछन् । वडाले उद्यमशीलता र जीविकोपार्जनका लागि तालिम दिएका व्यक्ति तथा संघसंस्थाले उत्पादन गरेका बस्तु तथा सामान, स्थानीय उत्पादनहरु तरकारी तथा फलफुल, ऊन तथा अन्य धागोबाट बनेका पहिरन तथा भेषभुषाको प्रवर्धन हुनेछ ।
स्वयम्भूको भुइँखेल चौरमा महोत्सव हुनेछ । भगवान पाउनको धर्मचक्र पार्कमा प्रदर्शनी र वडा स्तरीय विपद व्यवस्थापन, खोज उद्धार तथा पुनःस्थापना प्रदर्शनी हुनेछ ।
महोत्सवमा करिब ६० वटा स्टलबाट प्रदर्शनी र सेवा प्रदान गरिनेछ । परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्यु पर्यन्तका संस्कारसँग सम्बन्धित चित्र, संस्कृति र परम्परासँग सम्बन्धित चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्र, हुलाक टिकट र मुद्रा प्रदर्शनमा राखिनेछन् । वडाबासीले उत्पादन गरेका मौलिक सामान तथा बस्तुको प्रदर्शनीले विशेष आकर्षणका रुपमा रहनेछन् । महोत्सवमा मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, रक्तदानलगायत सेवा हुनेछन् । रञ्जना लिपि लेखन, मुहार चित्रकारिता (फेस पेन्टिङ्) जस्ता क्रियाकलाप महोत्सवका थप आकर्षण हुनेछन् । ‘पूर्खाको पौरख, नेपाली गौरव’ नारासहित आयोजना हुने महोत्सवमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम र खेलहरु समावेश गरिनेछन् ।
महोत्सवलाई मेरो हो भन्ने महसुस गराउन तयारीमा विशेष ध्यान दिइएको छ । सबैको सहभागिता सुनिश्चित गर्न प्रयास गरिएको छ । वडास्तरीय वृहत छलफल आयोजना गरेपछि प्राप्त पृष्ठपोषणका आधारमा कार्यक्रम तय गरिएको छन् । व्यहोरा अनुरोध गरिन्छ ।
वडाको संक्षिप्त चिनारी
वडाको क्षेत्रफल ३१६.५ हेक्टर हो । २०७८ सालको जनगणनाअनुसार वडाको जनसंख्या ५२ हजार ६६८ जना रहेको छ । यसमा २६ हजार ३२३ जना पुरुष र २६ हजार ३४५ जना महिला हुनुहुन्छ । घरधुरी संख्या १४ हजार ८१ रहेको छ ।
स्वयम्भू महाचैत्य वडाको अभिन्न पहिचान हो । उपत्यकाभरि पानी जम्मा भएर पोखरी भएको प्राचीन कालमा स्वयम्भू उत्पत्ति भएको मानिन्छ । महामञ्जुश्री (बोधिसत्व) ले फूच्व, धिलाच्व, जामाच्व र सिपूच्व गरी चार दिशाबाट पोखरी खोलेर पानी बाहिर पठाएपछि बस्ती बनाएको मान्यता छ । बस्ती बसेपछि राजा बनाइएका प्रचण्डदेवले अर्धगोलाकार गुम्बज बनाएर स्वयम्भूको संरक्षण गरेका थिए ।
स्थूरको गर्भमा पञ्चबुद्ध (पञ्चतत्वको प्रतीक) चारतारा (चतुर्महाभूतको प्रतीक) विराजमान गराइएको छ । त्यसमाथि बुद्धका आँखा प्रज्ञा र उपायको रुपमा, प्रश्नबाचक चिन्ह सम्पूर्ण प्रकारका प्राणीहरुलाई उद्धार गर्ने प्रतीकका रुपमा राखिएको छ । अर्धगोलाकार आकृतिमाथि रहेको त्रयोदश भुवनलाई बुद्धत्व प्राप्त गर्ने खुड्किलाका रुपमा लिइन्छ । प्राचीनकालमा गोशृङ्गपर्वत एरियालाई सिंगु÷स्यंगु नामबाट स्वयम्भू हुन गएको भन्ने कथन पनि रहेको छ । स्वयम्भू स्तूपका चार दिशामा चार वटा पुर रहेका छन् । आग्नेय कोणमा बसुपुर (पृथ्वी), नैर्ऋत्य कोणमा वायुपुर (वायु), वायव्य कोणमा अग्निपुर (तेज) र ईशान कोणमा नागपुर (जल) रहेका छन् । यी हरेक पुरलाई स्वतन्त्र र सम्पूर्णताको संसारका प्रतीक मानिन्छ ।
शान्तिपुर, हारती माता, महामञ्जुश्री सरस्वती स्थान, लखु तीर्थ, विष्णुमती नदी किनारामा रहेको शोभाभगवती मन्दिर, ससुख्वात टोलमा रहेको सरस्वती मन्दिर, डल्लु टोलमा रहेको महाविष्णु मन्दिर र गणेश मन्दिर, धिमेल्वहँमा रहेका भीमसेन मन्दिर र नासल देवता स्थानीयको आस्थाको देवस्थानहरु हुन् । यस्तै तुलसीधारामा रहेको माधवनारायण मन्दिर, धुम्बाखेलमा रहेको बाघभैरब मन्दिर, भचाखुशीमा रहेको घोरीनाग मन्दिर, स्वयम्भू परिक्रमा मार्गमा रहेको विश्वकर्मा मन्दिर,किमडोल डाँडामा रहेको सेतीदेवी मन्दिर, डल्लुमा रहेको भेलु (भिंपु) महादेव, भगवान पाउनमा रहेको सूर्यविनायक, चक्रपथ बाहिर रहेको कार्य विनायकप्रति स्थानीयको प्रगाढ आस्था छ । वडाभित्र साम्हेगु विहार, किण्डोल बिहार, आनन्दकुटी बिहार, आनन्द भूवन बिहार, भुइखेल बहाल, जगतउद्धार बिहार, सिद्धि विहार, धिमेल्वहँ बौद्ध विहार, श्रद्धा कीर्ति विहार बौद्ध विहार आदि रहेका छन् ।
प्रसिद्ध कर्णदीप, लामाहरुको दीप, कपालीहरुको समाधिस्थल, लखुतीर्थ दीप, मुस्लिमहरुको चिहान, भन्तेहरुको दीप यस वडामा रहेका मृत्य संस्कारसँग सम्बन्धित स्थलहरु हुन् ।
वडामा मनाइने जात्राहरुमा गुंला मेला, वुद्ध जयन्ती, बौद्धबाट सुरु भएर स्वयम्भूमा सकिने तेमाल जात्रा, हिमाली भेगका मानिसले मनाउने साकाधावा, साउनमा हुने रोपाइँ मेला मुख्य हुन् ।
नेवार समुदायको बाहुल्यता भएको वडामा आर्य, तामाङ्, गुरुङ्, मगरसहित विभिन्न जातजातिको मिश्रित बसोबास छ।
अन्त्यमा,
ठमेल र बसन्तपुरबाट पैदल दुरीमा रहेको यस क्षेत्रको पर्यटकीय प्रवर्धनमा सहयोग गरेर स्थानीयबासीको आर्थिक, सामाजिक विकासमा आमसञ्चारकर्मीहरुबाट महत्वपूर्ण सहयोगको अपेक्षा गरेका छौँ । यसअघि जस्तै रचनात्मक सहयोग प्राप्त भइरहने अपेक्षा गर्दछौँ ।
धन्यवाद
ईश्वरमान डंगोल
वडाध्यक्ष
वडा समितिको कार्यालय
स्वयम्भू