अन्तर्राष्ट्रिय पर्यटन बजारमा उत्कृष्ट पर्यटन गन्तव्य मुलुकको पहिचान बनाएको नेपालमा पर्यटक आगमन भने औसत छ । गएको वर्ष पनि नेपालले औसत आगमनमै चित्त बुझाएको छ । नेपाल पर्यटन बोर्डका अनुसार २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटक नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा नेपालले मासिक ९५ हजार ६ सय ३० पर्यटक मात्र भित्र्याउन सकेको छ ।
नेपालमा वार्षिक १० लाख पर्यटक आगमन २०१९ मै नाघेको हो । त्यसपछिका दुई वर्ष २०२० र २०२१ कोभिड महामारीले प्रभावित भयो । त्यसपछि संसारभरि तीव्र गतिले आगमन सुधार भए पनि नेपालको गति सुस्त भयो । जुन गति २०२४ मा समेत विस्तार हुन सकेन।
२०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ आएको तथ्यांकमा छ।
पर्यटन बोर्ड निर्देशक मणिराज लामिछाने कोभिड महामारीदेखि आगमनमा परेको असरले केही सुस्त भए पनि अपेक्षा अनुसार पर्यटक आएको बताउनुहुन्छ। शृङ्खलाबद्ध ठुल्ठूला सडक दुर्घटनाका कारण भारतीय पर्यटकमा परेको मनोवैज्ञानिक असर र चीनको आन्तरिक अर्थतन्त्रका कारण पर्यटक कम हुँदा त्यसले नेपालमा आगमन बढाउन नसकेको उहाँको भनाइ छ ।
नेपालमा सडकको दयनीय अवस्थाको पर्यटन बजारमा बढी आलोचना भइरहेको छ । काठमाडौंबाट प्रमुख पर्यटन गन्तव्य पोखरा, चितवन र लुम्बिनी पुग्ने सडक पुनर्निर्माण क्रममा छन् । तर, कामको गति कम हुँदा पछिल्लो आधा दशकयता यी सडक हुँदै यात्रा गर्ने सर्वसाधारण र पर्यटकले सास्ती पाइरहेका छन् । अर्कातर्फ, दुर्घटनाको दरसमेत बढिरहेको छ । यसको नकारात्मक प्रचारले भारतीय पर्यटक आगमन प्रत्यक्ष प्रभावित हुने व्यवसायी बताउँछन् ।
अनलाइनखबरका अनुसार २०२४ को कुल पर्यटक आगमन केलाउँदा पहिलो स्थानमा भारतीय पर्यटक छन्। अमेरिकी पर्यटक आगमन दोस्रो स्थानमा छ। तेस्रो स्थानमा चिनियाँ छन्
पर्यटक आगमन एकतिहाइ मात्रै
नेपालमा १ लाख ४२ हजार होटल तथा रेस्टुरेन्ट
नेपालमा करिब डेढ लाख होटल तथा रेस्टुरेन्ट सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको छ । केन्द्रीय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०२०’ का अनुसार नेपालमा १ लाख ४२ हजार २ सय २३ होटल तथा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
यसअघि तारे होटलमात्र समेटेर २०६० सालमा सर्वेक्षण तयार पारिए पनि यसपालि सबै होटल, रिसोर्ट, होमस्टे र रेस्टुरेन्ट समेटेर बृहत सर्वेक्षण गरिएको कार्यालयले जनाएको छ।
मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा होटल तथा रेस्टुरेन्ट उद्योगको योगदान १.९६ प्रतिशत पुगेको जनाएको छ।
हाल सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्ट मध्ये कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ छन् ।