भक्तपुर
भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित एड्भान्स पाक शिक्षा तालिम समापन तथा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले तालिममा सहभागी २० जना प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नागरिकलाई आत्मनिर्भर र आर्थिक रुपले सबल बनाई स्वरोजगार बनाउने उद्देश्यले भक्तपुर नपाले युवा र महिला लक्षित सीपमूलक तालिमहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
सबै मान्छे सबैमा पूर्ण नहुने तर उसमा विशेष क्षमता र विशेषता हुने बताउँदै उहाँले मानव जीवनको दैनिक जीवनयापनसँग सम्बन्धित पाक शिक्षा धेरै राम्रो व्यवसायको रुपमा रहेको चर्चा गर्नुभयो ।
नेपाल संसारकै राम्रो हावापानी भएको देश भएको बताउँदै उहाँले अब नेपालीहरु विदेश जाने होइन, विदेशीलाई नेपाल भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर सांस्कृतिक र पर्यटकीय नगरको रुपमा विकास भइरहँदा यहाँ पर्यटन प्रवद्र्धनमार्फत आर्थिक गतिविधि चलायमान बनाउने धेरै सम्भावनाहरु रहेको बताउँदै प्रमुख प्रजापतिले श्रमलाई सम्मान गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले पाक शिक्षा कला र सिर्जनशीलतासँग पनि जोडिएको पेशा हो भन्दै मौलिक खानाका परिकारहरुलाई होटल व्यवसायीहरुले प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले पाक शिक्षालाई अभौतिक सम्पत्तिको रुपमा व्याख्या गर्दै मौलिक खानाको माध्यमबाट पनि भक्तपुरको पहिचान कायम गर्न सकिने बताउनुभयो ।
कार्यक्रमका सभापति कार्यपालिका सदस्य रोशनमैया सुवालले प्रशिक्षार्थीहरुले तालिमबाट सिकेको ज्ञान र सीपबाट आफ्नो जीवनलाई अझ परिस्कृत बनाउन टेवा पुग्ने विश्वास गर्दै आजका प्रशिक्षार्थी भोलिको व्यवसायीको रुपमा विकास हुन प्रेरणा दिनुभयो ।
कार्यक्रममा भनपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, वडा सदस्य हेरा ख्याजु, पाक शिक्षा तालिम प्रशिक्षक विष्णु श्रेष्ठ, प्रशिक्षार्थी रमेश कायस्थले तालिमको उपलब्धी र महत्वमाथि प्रकाश पार्नुभयो ।