नेपाली जनता सदैव ‘एक चीन नीति’ को समर्थनमा

नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगाठको अवसरमा सिचाङ स्वशासित क्षेत्र (तिब्बत) को ल्हासामा आयोजित नेपाल र सिचाङ स्वशासित क्षेत्रका भगिनी सम्बन्ध कायम भएका नगरपालिकाहरुबीचको विचार आदानप्रदान कार्यक्रममा सहभागी हुने क्रममा हामी यहा“ आएका हौं । कार्यक्रम अवधिभर सहकार्य गर्नुहुने शान–नान नगरपालिकाका आदरणीय उपमेयर हान लिआङ र अन्य मित्रहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । ल्हासादेखि शान–नानसम्मको यात्राको क्रममा देखिएका फराकिला र चिल्ला सडक पूर्वाधार, उच्च प्राविधिक संयोजनमा निर्माण सम्पन्न गरिएका सुरुङ्ग मार्गहरू, हरियाली प्रवद्र्धनसहितको नदी प्रणाली, मुख्य शहर क्षेत्र, पुल र सडकमा व्यवस्था गरिएका आकर्षक र चम्किला सडकबत्ती, सुरक्षा प्रणालीलाई बलियो बनाउन राखिएका सीसी क्यामेराहरुबाट हामी प्रभावित भयौं । यसका लागि धेरै धेरै धन्यवाद छ ।

नेपाल, तिब्बत र चीनको बीचमा गहिरो ऐतिहासिक सम्बन्ध रहिआएको छ, जुन सरकारी तहदेखि नागरिक स्तरसम्म फैलिएको छ । दुई देशबीच कुटनैतिक सम्बन्ध सन् १९५५ मा स्थापना भएको थियो । कुटनैतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाठ मनाइरँदा नेपाल र हामी नेपाली जनता सदैव ‘एक चीन नीति’ लाई दृढतापूर्वक समर्थन गर्दै आएको अवगत गराउँदछौं ।

भक्तपुर नगरपालिका नेपालकै सबैभन्दा सानो नगरपालिका हो र यो देशको राजधानी काठमाडौंबाट १३ किलोमिटर पूर्वमा अवस्थित छ । आठौं शताब्दीमा स्थापना भएको यो नगर साँस्कृतिक र पुरातात्विक रुपमा महत्वपूर्ण छ । यसको प्राचीन नाम ‘ख्वप’ हो ।

प्रशासनिक दृष्टिकोणबाट हेर्दा, भक्तपुर नगरपालिका १० वटा वडामा व्यवस्थित छ, जहाँ अधिकांश वासिन्दा नेवार समुदायका छन् । सन् २०२१ को जनगणना अनुसार, भक्तपुरको स्थायी जनसंख्या ७८,८५४ छ र यहाँ अस्थायी बसोबास गर्नेको संख्या पनि करिब उति नै छ । यहाँका जनताको मुख्य पेशा कृषि हो । साना तथा कुटीर उद्योग, व्यापार, पर्यटन र हस्तकला उद्योग पनि छन् । परम्परागत घरेलु तानबाट बुनिएका कपडा, दही, काष्ठकला, परम्परागत रङ्गाइए र तयार पारिएका धागो र कपडा, सेरामिक, हस्तकला उत्पादन, कागज, धातुकला, पौभा र थाङ्गका, चित्रकला, कार्पेट, धातुकला, माटोको भाँडाकुडा आदि यहाँका आप्mनै उत्पादनहरू हुन् ।

ऐतिहासिक तथा साँस्कृतिक भक्तपुर दरवार क्षेत्र, टौमढी क्षेत्र र दत्तात्रय क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणका केन्द्रहरु हुन् जहाँ पचपन्न झ्याले दरवार, सुनढोका, ङातापोल, मयुर भ्mयाललगायतका सम्पदाहरु संसारकै उत्कृष्ट कलाकृतिहरु अवलोकन गर्न पाइन्छ । यी लगायतका मूर्त सम्पदाहरु, अनि जात्रा पर्व, परम्परागत जीवनशैलीहरू र साँस्कृतिक गतिविधिहरू जस्ता अमूर्त सम्पदाहरुलाई जीवन्त रुपमा संरक्षण गरिरहेकै कारणले भक्तपुरको दरवार क्षेत्र र वरपरको पुरानो नगर क्षेत्र सन् १९७९ मा युनेस्को विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको थियो ।

नेपालमा प्रवेश गर्ने कुल विदेशी पर्यटकहरुमध्ये करिब २५ प्रतिशतले भक्तपुर भ्रमण गर्छन् र तीमध्ये चिनियाँ पर्यटकहरुको संख्या दोस्रो स्थानमा पर्छ । जनवरी २०२४ देखि अप्रिल २०२५ सम्ममा ५४,७५३ जना चिनियाँ पर्यटकहरूले भक्तपुरको भ्रमण गरेको तथ्याङ्क छ ।

भक्तपुर नगरपालिका क्षेत्रभित्र ८६० भन्दा बढी सम्पदाहरू छन्, जसमध्ये १२० वटामा सन् २०१५ को विनाशकारी भूकम्पले क्षति पु¥याएको थियो । स्थानीय जनताको सकृय सहयोग र सहभागितामा हामीले ती ऐतिहासिक सम्पदाहरू सफलतापूर्वक पुनर्निर्माण र जीर्णोद्धार गरिरहेका छौं । भक्तपुर आत्मनिर्भरतामा विश्वास गर्छ । कुनै विदेशी दातृ निकायको सहयोग विना हामीले मौलिक प्रविधि र स्थानीय स्रोतहरुको उच्चतम् उपयोग गर्दै प्रत्यक्ष जनसहभागितामा सम्पदा संरक्षण कार्यलाई अगाडि बढाइरहेका छौं ।

सन् २०१६ र २०२१ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्षलगायत सम्पूर्ण जनप्रतिनिधिहरु नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित भएका हुन् । नेमकिपा कम्युनिस्ट पार्टीहो र यसले वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्मको लक्ष्य लिएको छ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारालाई मार्गनिर्देशक सिद्धान्तको रुपमा नेमकिपाले अङ्गिकार गर्दै आएको छ । नेमकिपाले पूँजीवादी निर्वाचन प्रणालीलाई देश र जनताको हितमा क्रान्तिकारी उपयोग गरिरहेको छ । वरिष्ठ वामपन्थी नेता श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित) ले यस पार्टीको नेतृत्व गर्दै आउनु भएको छ।

भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्य उपचार सेवालाई उच्च प्राथमिकतामा राख्दै आएको छ । यहाँ २ वटा इन्जिनियरिङ्ग कलेजसहित विज्ञान र व्यवस्थापन तथा सिविल ओभरसियर र नर्सिङ गरी ७ वटा शैक्षिक संस्थाहरु सञ्चालनमा छन् । देशभरिबाट ७,००० भन्दा बढी विद्यार्थीहरु कम शुल्कमा विभिन्न बिषयहरूमा अध्ययनरत छन् । हामी आफ्नै विश्वविद्यालय “ख्वपविश्वविद्यालय” स्थापना गर्ने योजनासहित नेपाल सरकारलाई स्वीकृतिको लागि अनुरोध गर्दैछौं ।

यहाँ २६ वटा प्राथमिक विद्यालयहरू, ७० वटा माध्यमिक विद्यालयहरू, ६ वटा शिशुस्याहार तथा वालविकास केन्द्रहरु र एक वटा आदर निकेतन संचालनमा छन् ।

भक्तपुर नगरपालिकाले १०० बेडको ख्वप अस्पताल सञ्चालन गरिरहेको छ । कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवाहरू प्रदान गर्नु नै यस अस्पतालको मूल उद्देश्य हो । यहाँ अहिले बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, इमर्जेन्सी सेवा, शल्यक्रिया र ल्याव तथा रेडियोलोजी सेवाहरू उपलब्ध छन् । गत ११ महिनामा लगभग दुई लाख उनान्चास हजारभन्दा बढी बिरामीहरूले ख्वप अस्पतालमा उपचार सेवा प्राप्त गरेको तथ्याङ्क छ । यस अस्पतालले स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, खोप कार्यक्रम र समुदायस्तरमा रोग प्रतिरोधात्मक उपायहरूको प्रवद्र्धनात्मक कार्यक्रमहरु पनि गरिरहेको छ ।

सन् २०१५ को विनाशकारी भूकम्प र कोभिड १९ को महामारीको समयमा जनताहरुलाई निरन्तर स्वास्थ्य उपचार सेवा प्रदान गर्न हामीलाई मित्र राष्ट्र चीन र भगिनी शहर शान–नानले चिकित्सा सामग्री सहयोग गरेको हामी सदा स्मरण गर्दछौं । नेपाली जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद र आभार प्रकट गर्दछौं ।

भक्तपुर नगरपालिका र शान–नान नगरपालिकाबीच सन् २०१६ अगस्त १४ मा भगिनी सम्बन्ध स्थापना गरिएको थियो । दुई नगरपालिकाबीच शिक्षा, संस्कृति, पर्यटन, आर्थिक, व्यापारलगायतका क्षेत्रहरुमा सहकार्य गर्ने उद्देश्यसहित भगिनी सम्बन्ध स्थापनाको सम्झौतामा हस्ताक्षर गरिएको थियो । यस सम्झौतापछि दुवै देशका प्रतिनिधिमण्डलले आपसी भ्रमण गरी अनुभव आदानप्रदान गरेको यहाँ उल्लेख गर्दछौं । यसैक्रममा सन् २०२२ जुलाईमा, हामीले शान–नान नगरपालिकाका कार्यकारी उपमेयर आदरणीय मु योङ्गवेनको नेतृत्वमा छ सदस्यीय उच्चस्तरीय प्रतिनिधि मण्डललाई भक्तपुरमा स्वागत गर्ने अवसर पायौं। यस भ्रमणले दुई नगरपालिकाबीचको भगिनी सम्बन्धलाई थप बलियो बनाएको हाम्रो विश्वास छ । यस प्रकारको भ्रमण र अनुभव आदानप्रदानले पारस्परिक समझदारी र सहकार्यलाई प्रवद्र्धन गर्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।

(नेपाल र जनवादी गणतन्त्र चीनबीच दौत्य सम्बन्ध स्थापना भएको ७० औं वर्षगा“ठको अवसरमा चीनको सिचाङ स्वशासित क्षेत्र (तिब्बत) र नेपालबीच भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाहरुको २०८२ असार १० (जुन २४, २०२५) गते तिब्बतको ल्हासा शहरमा सम्पन्न बैठकमा सहभागी हुने क्रममा भक्तपुर नगरपालिकास“ग भगिनी सम्बन्ध स्थापित शान–नान नगरपालिकाका मेयर शान्झु सिरेनसंग भेटवार्ताको क्रममा भक्तपुर नगरपालिकाका प्रतिनिधितथा वडाध्यक्ष रविन्द्र ज्याख्वले व्यक्त गर्नुभएको मन्तव्यको सम्पादित अंश)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading