राष्ट्रिय कला संग्रहालयको ६५ औं स्थापना दिवस

 

 

भक्तपुर

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा राष्ट्रिय कला संग्रहालय भक्तपुरको ६५ औं स्थापना दिवसको अवसरमा आज अन्तरक्रिया तथा क्षमता अभिवृद्धि कार्यक्रम मंगलबार सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुरका लोपोन्मुख अवस्थामा रहेका मूर्त र अमूर्त सम्पदाहरुलाई भक्तपुर नपाले प्राथमिकताको आधारमा संरक्षण र सम्बद्र्धन गर्दै आएको बताउँदै राष्ट्रिय कला संग्रहालयले भक्तपुरको महत्वलाई अझ उँचो राख्ने काम गरेको बताउनुभयो ।

स्वदेशी र विदेशी पर्यटकको उत्कष्ट गन्तव्यस्थलको रुपमा विकास भइरहेको भक्तपुरलाई रोम र संसारकै जीवित संग्रहालयको रुपमा पनि व्याख्या गर्ने गरिएको बताउँदै उहाँले दरबार क्षेत्रमा अवस्थित न्ह्यकं झ्या दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण गर्ने विषयमा सहमति भइसकेको र केही प्राविधिक कारणले गर्दा उक्त दरबार पुनःनिर्माणमा ढिलाइ रहेको बताउनुभयो ।

कृषि, जनजीवन र नेवारी संस्कृतिसम्बन्धी संग्रहालय जिल्ला जिल्लामा सञ्चालन गर्न नेपाल सरकारले जोड दिनुपर्ने बताउँदै उहाँले भक्तपुर नपा दरबार क्षेत्रस्थित ९९ चोक उत्खनन् गर्ने पक्षमा रहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भाषा, संस्कृति संरक्षण गरी जस्ताको तस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले काम गरिरहेको बताउँदै उहाँले विद्यार्थीहरुलाई सम्पदाको महत्व अध्ययन अध्यापन गराउन स्थानीय पाठ्यक्रमको निर्माण गरी सबै विद्यालयहरुमा लागू गर्दै आएको बताउनुभयो ।

कार्यक्रमका सभापति एवम् पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानांगले संग्रहालयको व्यवस्थापनमा पुरातत्व विभागले गरेका गतिविधिमाथि प्रष्ट पार्दै पुरातत्व विभागअन्तर्गत पर्ने सातवटा संग्रहालयमध्ये भक्तपुरको कला संग्रहालय विशेष महत्वको रहेको बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा. सुरेश सुरस श्रेष्ठले संग्रहालयले भक्तपुर नगरपालिकासँग सहकार्य गरी आगामी दिनमा अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने विषयमा समीक्षा गर्नुपर्छ भन्नुभयो ।

भक्तपुरको कला संग्रहालय अन्य संग्रहालय भन्दा कलात्मक विशेषतायुक्त रहेको बताउँदै उहाँले संग्रहालयले समाजको चित्रण गर्ने हुँदा अझ व्यवस्थित गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले भक्तपुर कला र संस्कृतिले भरिएको खुल्ला संग्रहालय भएको बताउँदै यसको संरक्षण र सम्बद्र्धन तीन तहकै सरकारको साझा दायित्व हो भननुभयो । उहाँले मल्लकालीन अवस्थादेखि रहेका संग्रहालयका कला कृतिहरुलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै लानु आवश्यक भएको बताउँदै उहाँले भक्तपुरको सम्पदा संरक्षणमा भक्तपुर नगरपालिका र स्थानीय समुदायको ठूलो भूमिका रहेको बताउनुभयो ।

इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले सिंहध्वाका लायकूको दायाँ र बायाँमा अवस्थित राष्ट्रिय कला संग्रहालय भक्तपुरमा विश्वमै नभएका अतुल्य सम्पदाहरु रहेको बताउँदै नेपाल चिनाउने सम्पदा संरक्षणमा सबैको अग्रसरता आवश्यक भएको बताउनुभयो ।

राष्ट्रिय कला संग्रहालय भक्तपुरको इतिहास हेर्ने ऐना हो भन्दै उहाँले संग्रहालयले भक्तपुरको ऐतिहासिक महत्वलाई अझ उजागर गरेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय कला संग्रहालय भक्तपुरका प्रमुख जयन्ती श्रेष्ठले संग्रहालय स्थापनाको इतिहासबारे प्रष्ट पार्दै राष्ट्रिय कला संग्रहालय भक्तपुरमा हाल धातुकला, चित्रकला, प्रस्तरकला र काष्ठकलाका २१०० वटा कलात्मक वस्तु संग्रहित रहेको बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading