Skip to main content

kathmanduonlinemedia.com

जनताको अवाज,जनमुखी सत्य तथ्य समाचारको संगालो काठमान्डौ अनलाइन खबर

सहकारीलाई बैंकको जस्तै ऋण कारोबार क्षेत्र दिदा समस्या

भक्तपुर

 उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले आइतबार श्वेत भैरव बचत तथा ऋण सहकारी संस्थाको २२ औँ स्थापना दिवस कार्यक्रममा राख्नुभएको हो ।“मिठो फलका लागि राम्रो बीउको बिरुवा आवश्यक हुन्छ; खराब मान्छे राखेर समाज राम्रो बन्ने कल्पना गर्न सकिन्न ।”उहाँले भन्नुभयो, “गरिब र मध्यम किसानहरूको हितमा काम गर्ने उद्देश्यले खोलिएका सहकारी संस्थालाई बैङ्कको जस्तो बचत ऋणको कारोबार गर्न दिँदा सहकारीमा समस्या आएको हो । सहकारी सञ्चालकले कानुनका छिद्रलाई टेकेर व्यक्तिगत स्वार्थमा करोडौँ–अबौँ लगानी गर्दा आज लाखौँ जनताको दुई खर्बभन्दा बढी बचत हिनामिना भएको हो । यस्ता काममा शासक दलकै कायर्कर्ताहरू संलग्न भए ।”

अध्यक्ष बिजुक्छेँले अगाडि भन्नुभयो, “समाजका मानिसलाई शिक्षित र सचेत बनाउने विषयमा सहकारीले कार्यक्रम गर्दै जानुपर्छ । ब्याजको लोभमा परिवारका सदस्यलाई समेत थाहै नदिई नचिनेको सञ्चालक रहेको सहकारीमा बचत जम्मा गर्दा धेरै बचतकर्ता बिरामी हुँदा उपचार गर्न नसकी मृत्यु भएको घटनाबाट सचेत हुनु जरुरी छ ।”

सञ्चालक परिवारलाई बिनाधितो करोडौँ रकम ऋण दिएका सहकारीले आजसम्म बचत रकम फिर्ता गर्न नसकेको हुँदा निजहरूकै जायजेथाबाट बचतकर्ताको बचत रकम फिर्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले सहकारी संस्थाले सीपमूलक तालिम दिई सदस्य परिवारलाई स्वरोजगार बनाउन सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले नगरवासीलाई शैक्षिक ऋण दिएजस्तै सहकारीले पनि कम ब्याजमा शैक्षिक ऋण दिनुपर्छ । सदस्य परिवारले उच्च शिक्षा अध्ययनपछि समाजकै सेवामा लगाउन सहकारीको भूमिका हुने भएकोले सञ्चालकहरू बढी सक्रिय हुनुपर्छ ।”

आयोजक संस्थाका अध्यक्ष जितेन्द्र खायमलीको सभापतित्वमा भएको उक्त कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजु, शिक्षक लक्ष्मीनारायण दुवाल, संस्थाका सल्लाहकार महेन्द्र खायमली, नातिभाइ हेम्बा, उपाध्यक्ष सत्यनारायण गाइजुलगायतले संस्थाको गतिविधिबारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा अतिथि बिजुक्छेँले ८० वर्ष उमेर पूरा गरेका १९ जना ज्येष्ठ सदस्यहरूलाई दोसल्ला ओढाइ सम्मान गर्नुभयो । कार्यक्रममा अग्रज किसान नेता एवम् शिक्षासेवी बुद्धिकुमार गोसाईंलाई विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमपश्चात् जेँला सांस्कृतिक समूहको सहयोगमा सांस्कृतिक कार्यक्रम भएको थियो ।

संस्थाकै आयोजनामा आइतबार बिहान रक्तदान कार्यक्रम भएको थियो ।

By Kathmandu Online Media

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Daily News

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.