भक्तपुरबाट प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको बिदाइ

भक्तपुर

भक्तपुरबाट अर्घाखाँची सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई आज एक समारोहबीच बिदाई गरियो ।

भक्तपुर नगरपालिकाको आयोजनामा भएको बिदाइ कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले उहाँलाई पुष्पगुच्छा र खादा ओढाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनोको रुपमा प्रदान गरी बिदाइ गर्नुभयो ।

बिदाई कार्यक्रममा नगर प्रमुख प्रजापतिले प्रमुख जिल्ला अधिकारी अर्यालको कार्यकाल छोटो भए पनि उपलब्धीपूर्ण रहेको बताउँदै नपाले जिल्ला प्रशासन कार्यालयसँग निरन्तर समन्वय र सहकार्यमा काम गर्दै आइरहेको बताउनुभयो ।

प्रमुख प्रजापतिले भक्तपुर नपा वडा नं. १ स्थित भाजुपोखरीको दक्षिणतर्फको डिल निर्माणमा जिल्ला प्रशासन कार्यालयको स्मरणीय भूमिका रहेको बताउँदै अर्यालले आफ्नो पदीय भूमिका उल्लेखनीय ढंगले निर्वाह गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा प्रजिअ गोपालप्रसाद अर्यालले भक्तपुर नपामा ८ महिनाको कार्यअनुभवबाट भक्तपुरलाई नजिकबाट चिन्ने अवसर मिलेको बताउँदै भक्तपुर नपाको योजनाबद्ध ढंगले काम गर्ने शैलीबाट आफू प्रभावित भएको बताउनुभयो ।

उहाँले राष्ट्र र नागरिकको हितमा काम गर्ने मुख्य उद्देश्यले काम गर्दै आएको बताउँदै भाजु पोखरीको डिल र पर्खाल निर्माणमा नपा र भक्तपुर बहुमुखी क्याम्पसबीच समन्वयकारी भूमिका खेलेको स्मरण गर्नुभयो ।

बिदाइ कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले प्रजिअ अर्यालको कार्यकालमा कार्यमूल्यांकन र कार्य सम्पादनको आधारमा भक्तपुर देशकै उत्कृष्ट जिल्ला बन्न सफल भएको बताउनुभयो ।

कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो भने भक्तपुर नगरपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य, जनप्रतिनिधि र भक्तपुर नपाका शाखा प्रमुखहरुको उपस्थिति रह्यो ।

बिदाइकै क्रममा प्रमुख प्रजापतिले प्रजिअ अर्याललाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back To Top

Discover more from kathmanduonlinemedia.com

Subscribe now to keep reading and get access to the full archive.

Continue reading